आठौ खेलकुद कति सफल कति असफल?

काठमाण्डौ, खेलपेपर
आठौ राष्ट्रिय खेलकुद सकिए लगत्तै नेपालका खेल अधिकारी दंग देखिएका छन् । नेपालका खेल संघका पदाधिकारी पनि एउटा ठुलै सफलता लिएर काठमाण्डौ फर्किएको खुशी उनीहरुको अनुहारमा झल्किन्छ । राखेप सदस्य सचिव, मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समिति( विघटन भइसकेर पनि काम गरिरहेको संस्था)का पदाधिकारी पनि दंग नै छन् । तर यो प्रतियोगितामा सहभागी भएर फर्किएका खेलाडी, प्रशिक्षक र खेलको सैद्धान्तिक ज्ञान भएकाहरुको अनुहार हेर्ने हो भने आठौ राष्ट्रिय खेलकुद कस्तो र कुन अवस्थामा सकियो भन्ने ठ्याक्कै अनुमान लगाउन सकिन्छ ।

एथलेटिक्स खेलमा रेशको ल्याप नै कति भएको भनेर प्राविधिक पक्षको भएको विवाद, अन्तिम समयमा आएर होटलको अयोग्य पौडी पोखरीमा प्रतियोगिता जस्ता विषयले यो पटक ठुलै चर्चा बटुले । मुख्य रंगशालामा खेल नै हुन नसक्नु , खेलाडीको खानाको विषय, खेल स्थलसम्म जाने र आउने विषय यस्ता अनेक विषय यो पटक चर्चाको विषय बने । पदक जित्नेहरुका लागी राष्ट्रिय खेलमा जितेको पदक भनेर दंग पर्नका लागी त अवसर नै बन्यो । त्यो भन्दा बढी अवसर सेल्फी खिच्ने खेल अधिकारी, राखेपका कर्मचारी र अन्य आगन्तुकहरुको चर्चा त्यो भन्दा बढी गर्न सकिन्छ । राष्ट्रिय खेलकुद परिषदबाट कसले र कतिको बजेट र पेश्की लिएर नेपालगंज पुगे भन्ने विषय त आगामी दिनमा खोजीको विषय पक्कै बन्ला । तत्कालिन नेकपा एमालेका नेता र कार्यकर्ता र केही पूर्व माओवादीहरु समेतले नेपालगंज जाँदा समेत भत्ता र पेश्की अनि हवाई टिकट लिन पछि परेनन् । यसबाट पनि यो पटकको आठौ राष्ट्रिय खेलकुदमा कुन तहको खर्च भयो भन्ने पुष्टि हुन्छ । खेल भएपछि सकिन्छ त्यो नेपालको नियती नै हो ।

तर जसरी सकिए पनि त्यसलाई सफल मान्ने परिपाटीको अव अन्त्य हुनुपर्छ । खेल कसका लागी र किन गरियो ? त्यसको यथोचित जवाफ दिन नेपालका खेल अधिकारी सक्षम हुनुपर्छ । पहिलो पटक एन आर एन ए को टिम सहभागी भएको दावी पनि गरियो । एन आर एन ए को टिमबाट खेल्ने खेलाडीको छनौट, त्यो सहभागी हुने विधि र प्रक्रिया के हो भन्ने अहिलेसम्म पनि पुष्टि भएको छैन । यसले एन आर एन ए को ‘चाकडी’ गर्ने र त्यसको नामा राजनीति गर्नेहरुलाई त फाइदा नै भएको होला तर खेलका दृष्टिकोणले कति ठिक भयो वा भएन त्यसको पनि लेखा जोखा होस् । एन आर एन ए को नाममा खेलेका खेलाडी, प्रशिक्षक लगायत पनि प्राय उही अनुहार देखिए जो विगतमा विभिन्न क्षेत्रबाट राष्ट्रिय प्रतियोगितामा सहभागी हुन्थे । यसका विषयमा पनि लेखा जोखा होस् । यस्ता धेरै विषयका बारेमा राष्ट्रिय खेलकुद परिषदका खेल अधिकारीले निर्मम समिक्षा गरोस् । यो पटक भएका कमजोरीलाई सुधार गर्ने र अलि विशिष्ट गल्ती छन् भने तिनका मतियारलाई कारवाही गर्ने हिम्मत नेपाल सरकारसँग हुनुपर्छ । खेल र खेलाडी माथी अन्याय गर्ने अधिकार कसैलाई पनि छैन । सकियो भनेर दंग पर्ने होइन निर्मम समिक्षा होस् । भारतमा कमनवेल्थ गेम्स सकिए पछि भारत सरकारले त्यसका विषयमा विशेष अनुसन्धान गरेका कारण तत्कालिन प्रमुख सुरेश कलमाडी सहितको टोली जेल गएको थियो । अर्थात खेल सकिएपछि समिक्षा गर्ने र प्रतिवेदन सार्वजनिक भएपछि मात्रै सफलता र असफलताको जस लिने काम गरौ । खेल क्षेत्रमा अव यस्तै कदम र पहल आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *