आफैले आफुलाई अध्यक्ष बनाए केशव विष्टले

काठमाण्डौ, १७ पुस
राष्ट्रिय खेलकुद परिषका सदस्य सचिव केशव विष्टले अन्तत आफु पनि नेपाली खेल क्षेत्रमा स्थायी हुने बाटो बनाएका छन् । राखेप सदस्य सचिव विष्टले नेपाल उसु संघ विघटन गरेर तदर्थ समिति गठन गरेका छन् । नेपालमा राष्ट्रिय र अन्तराष्ट्रिय मान्यता प्राप्त गरी दुई वटा नेपाल उसु संघ सक्रिय थिए । राखेप सदस्य सचिव विष्टले अहिले गठन गरेको तदर्थ समिति विभिन्न कारणले रोचक र असुहाउदो देखिएको छ । सवैभन्दा पहिलो विषय त आफुले आफुलाई नै अध्यक्ष बनाउने हिम्मत गरेका छन् विष्टले । आफुलाई अध्यक्ष बनाउन लेखिएको पत्रमा आफैले हस्ताक्षर गरेका छन् राखेप सदस्य सचिव विष्टले । दोस्रो उनले नेपालमा अहिले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा सक्रिय भनेर दावी गरिरहेका दुवै संघका अध्यक्षलाई पाखा लगाएर अन्य पदाधिकारीलाई समेटने प्रयास गरेका छन् । यो समेटने क्रममा दुवै संघका पदाधिकारीको नाम त राखिएको छ तर उनीहरुको सहमती लिइएको छ वा छैन यो विषयमा बुझन अझै बाकी नै छ । जीवनराम श्रेष्ठको अवैधानिक ओलम्पिक कमिटिले मान्यता दिएको उसु संघका महसचिवलाई नै विष्टले आफनो कमिटिमा निरन्तरता दिएका छन् । दिपक सरकार अध्यक्ष रहेको संघ यो निर्णय पछि विघटन भएको दावी राखेपको छ । तर सरकार समुहले भने यो विषयमा आवश्यक कानुनी कारवाही गर्ने बताएको छ । उता आङटेण्डी शेर्पाले अव यो विषयमा के गर्ने हुन् त्यो पनि प्रतिक्षाकै विषय हो । नेपाली खेल क्षेत्रमा राखेपको जिम्मेवारी सम्हालेपछि विभिन्न संघमा प्रवेश गरेर खेल क्षेत्रमा स्थायी हुने प्रवृती सामान्य जस्तै भएको छ । पूर्व सदस्य सचिव जीवनराम श्रेष्ठ पनि यस्तै गरी खेल संघ मार्फत नेपालमा स्थायी खेल पदाधिकारी बनेका हुन् । युवराज लामा  पनि नेपाल इक्विष्ट्रीयन संघका अध्यक्ष छन् । वर्तमा राखेप सदस्य सचिव केशव विष्ट सेपाक टाक्रो संघका उपाध्यक्ष हुन् । उनी मेनेजर भएर कोरिया गएको बेलामा नेपालका सेपाक टाक्रो खेलाडी भागेपछि केशव विष्ट कारवाहीमा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *