आशा लाग्दो बन्दै खेल क्षेत्र

–श्रीविक्रम भण्डारी

‘खेलकुदको चर्चा गर्दा कुनै व्यक्ति, समाज वा राष्ट्र प्रत्यक्ष वा परोक्षरुपमा यसमा समाहित भएकै हुन्छन । २०औं शताब्दीको उत्तराद्र्ध अर्थात २१ औं शताब्दीको आगमनसंगै खेलकुद क्षेत्रले प्राप्त गरेको उल्लेख्य उपलब्धि तथा यसको बढ्दो प्रभाव सवैलाई प्रस्ट भएकै तथ्य हो । तसर्थ विश्वमा खेलकुद र राष्ट्रिय अस्तीत्व एकहदसम्म एकअर्काका पर्याय नै भैसकेका छन । समग्र खेलकुदको विकासका लागि सम्वन्धित राष्ट्रका सरकारले गरेको सहयोग र गरिएको प्रयासले मात्रै खेलकुदले विश्वव्यापीरुपमा जरा गाडन सफल भएको हो । अन्य मुलुकले खेलकुदको वास्तविकतालाई आत्मसात गरेको लामो समय वितिसक्दा पनि नेपालमा भने राणाकालमा मात्र खेलकुदले स्पर्स गरेको थियो । जव राणा शासनको उदय भो, तव नेपालको विकास र अग्रगतिको विकास भेट्टाउन पुरा एक शताब्दी कुर्नु पर्‍यो । परिणाम, सो अवधिमा खेलकुद पनि नराम्रोसंग पिसिन पुग्यो । खेलकुद शासक वर्ग र उनीहरुका आसेपासेका माझ केबल मनोरंजन, ऐशआराम र मोजमस्तीकै सिमित हुनपुग्यो । खेलकुद दरवारको चार दिवारीमा कैद हुनपुग्यो, वाहिरी हावाले यसलाई स्पर्ष गर्न सकेन ।
समयक्रममा खेलकुदलाई संगठितरुपमा विकास गर्ने प्रयास गरिए बमोजिम २०१५ सालमा ‘राष्ट्रिय स्वास्थ्य खेलकुद परिषद नामक संस्थाको माध्यमवाट खेलको संस्थागत प्रयास प्रारम्भ भएको पाइन्छ । यसको दुई वर्षपछि ‘राष्ट्रिय खेलकुद परिषदको नामाकरण गरिएमा हालसम्म कायम रहेको छ । राखेपमा अहिलेसम्म १६ जना सदस्य सचिवले खेलकुदलाई हाँक्ने अवसर पाएका छन । जस्मा पहिलो सदस्य सचिव बन्ने सौभाग्य होराप्रसाद जोशीले पाएका थिए । त्यसपछि क्रमस: सुनिलशम्सेर राणा, कुमार खड्कविक्रम शाह, शरदचन्द्र शाह, इन्दुबहादुर शाही, युद्धविक्रम शाह, राजवहादुर सिंह, रुक्मसम्शेर राणा, केशव स्थापीत, शरदकुकार भट्टराई, बद्रीनाथ श्रेष्ठ, बिनोद शंकर पालिखे, किशोरबहादुर सिंह, जिवनराम श्रेष्ठ, हरिबाबु चौधरीले खेलकुदको नेतृत्व सम्हाल्न पाएका थिए भने अहिले युवराज लामाले खेलकुदलाई हाँकिरहेका छन । यसरी राखेपले आफ्नो ५५ बर्षको इतिहासमा १६ जना विभिन्न सोच, चिन्तन, शैली, मूल्य र मान्यता बोकेका सदस्य सचिवको नेतृत्व स्वीकारी सकेको छ । ०४६ सालअघिका सदस्य सचिवको चर्चागर्दा केबल शरदचन्द्र शाह मात्र त्यस्ता सदस्य सचिव बने जस्ले खेलकुदलाई बास्तविक खेलकुद बनाउने प्रयास र कसरत गरे । तसर्थ अहिले पनि शाहको ११ वर्षे कार्यकाललाई खेलकुदको ‘स्वर्णकालको संज्ञा दिइन्छ । पंचायतकालमा सिमित स्रोत साधन र क्षमताका बाबजुद पनि शाहले खेलकुद क्षेत्रमा गरेको लगानी साच्चिकै अविष्मणीय छ । भौतिक पूर्वाद्धार, आर्थिक सवलता, गुणात्मक खेल विकासमा उहाँ कार्यकाल निकै सफल रहेको थियो ।
०४६ सालको परिवर्तनसंगै मुलुकको सर्वपक्षिय आमुल परिवर्तन हुने विश्वास गरिएको थियो । यसमा खेलकुद क्षेत्रको आमुल परिवर्तनको भावना पनि प्रतिविम्वित अवश्य भएको थियो । राणाहरुले खेलकुदलाई विलाशिता र मनोरंजनको माध्यमको रुपमा मात्रै विकसित गरेपनि ०७ सालमा प्रजातन्त्र र त्यसपछिको अवधिमा खेलकुद प्राय मृतअवस्थामा पुगेको थियो । ०१७ पछि खेलकुदलाई व्यवस्थित गर्ने नाममा थोरै राम्रा र धेरै नराम्रा कामको प्रयोग भएको थियो । फलस्वरुप ३० वर्षसम्म खेलकुदमा भौतिक तथा अन्य क्षेत्रमा केहि आधारभूत परिवर्तन र विकासका ढोकाहरु खुल्ला गरिए । खेलकुदलाई संगठित विकासका मार्गमा अभिप्रेरित गरियो र विकासको संभावनामा बृद्धि भएको थियो । तर दुर्भाग्य, यसैबेला खेलकुदलाई तत्कालिन पंचायति शासनसत्ताको रक्षाको ढालको रुपमा बढी दुरुपयोग गरियो । खेलकुद कमाउने र तह लगाउने थलोको रुपमा रुपान्तरित गरियो । यसै कारण खेलकुद बढी विवादित र आलोचित  बन्न पुग्यो ।
०४६ पछि अर्थात मुलुकमा बहुदलिय ब्यवस्थाको स्थापनापछि खेलकुदले जुन विश्वास गरेको थियो त्यसमा कुठाराघात बाहेक केहि हात लागेन । सो अवधिमा खेलकुदमा राजनितिक हस्तक्षेप बाहेक केहि भएन । राजनितिक क्रिडास्थलको रुपमा खेलको विकास गरियो । खेल क्षेत्रमा अल्पकालिन र दीर्घकालिन रुपमा समयसापेक्ष कुनै न्यनतम कामहरु पनि हुन सकेनन् । खेलकुदका पदाधिकारीहरु राजनितीक खेलमै सिमित भए । जस्लेगर्दा बास्तविक खेलाडी छाँयामा परे भने राजनितिक खेलाडीको उदय भयो । खेलकुद दिनप्रतिदिन दलदलमा भासिदै गयो । साँचो रुपमा भन्नुपर्दा ०४६ सालको परिवर्तनको अनुभुति दिने चेष्टा कसैले पनि खेलकुदमा गरेनन् र चाहेनन् पनि । केवल सदस्य सचिवहरु फेरिए, राष्ट्रिय संघहरुको गठन विघटनलाई जोड दिए, सक्दो आर्थिक लाभ उठाए, आफ्नो बलबुताले भ्याएसम्म आफन्तलाई जागिर खुवाए, आफ्नो हनुमानगिरी गर्नेको बिणा पार गरे भने नगर्नेको राम धुलाई गरे, शक्तिको दुरुपयोग गर्दै अर्कालाई धुलो चटाउन खोजे अनि शक्तिमान बन्न खोज्दाखोज्दै राजनितिक परिर्वतनका कारण घोक्रेठ्याक लगाईए ।
प्रजातन्त्रको पुनर्वहालीपछि १२ जना सदस्य सचिवलाई खेलकुदको नेतृत्व सम्हाल्ने शुभअवसर प्राप्त भएको छ । यो अवधिमा जजस्ले खेलकुदको नेतृत्व सम्हाले ति सवै राजनितिक नियुक्ती पाएर आएका हुन । पार्टीका कार्यकर्ताहरु पार्टीको झण्डा ओढेर खेलकुदमा आएका हुनभन्दा अतिसयोक्ति नहोला । तसर्थ उनीहरुले पार्टीको स्वार्थभन्दा माथि उठेर खेलकुदको विकासमा कहिल्यै लागेनन् बरु खेलकुदको दुरुपयोग मात्र गरे । यो समयमा खेलकुदमा राजगर्ने इन्दुबहादुर शाही, रुक्सशम्सेर राणा, शरदकुमार भट्टराई, केशव स्थापीत, बद्रीनाथ श्रेष्ठ र जीवनराम श्रेष्ठ कोहि पनि वास्तविक खेलाडीहरु होइनन् । सवैजना दरवार र पार्टीको कोटामा पार्टी प्रतिनिधिका रुपमा खेलकुदमा भित्रिएका हुन । स्पष्ट रुपमा भन्नुपर्दा यीनीहरु खेलकुदसंग अनविज्ञ थिए । खेलकुदमा गोरु बेचेको साइनो समेत नभएकालाई खेलकुदको महिसा  बनाएर पठाएर तत्कालिन समयमा सरकार संचालन गर्ने राजनितिक पार्टीले खेलकुदको हुर्मत लिन कार्य गरेका थिए । यसैको परिणाम कछुवाको गतिमा अगाडि बढेको कसैवाट छिपेको छैन ।
खेलकुद क्रमिक रुपले अघोगतितर्फ उन्मुख भैरहेको र पार्टीका कार्यकर्ताहरुले हुर्मत लिदा खेलकुद जटिल मोडमा पुगेको थियो । खेलाडी, प्रशिक्षक र आम खेलप्रेमीलाई सन्त्रासको भुतले सताएको थियो । खेलकुद नराम्रोसंग दलदलमा भासिन पुगेको थियो । यसलाई सहि मार्गमा ल्याउने कहिकतैवाट प्रयास भएको थिएन । साँचो अर्थमा भन्नुपर्दा पार्टीका कार्यकर्ताहरुको करतुतले खेलकुद प्राय मृतअवस्थामा पुगेको थियो । तर अहिले खेलकुदमा आशाका किरणहरु देखिएका छन । माओवादी सरकारले खेलकुदको मर्मलाई आत्मसात गर्दै पूर्व कराते खेलाडी युवराज लामालाई राखेपको सदस्य सचिवमा नियुक्ति गरेपछि यस्तो अवस्थाको र्सजना भएको हो । लामा खेलकुदमा आउँदा खेलकुद लथालिङ र भताभुङ्गको अवस्थामा थियो । जताततै प्वालैप्वाल परेको थियो । कर्मचारीदेखि राष्ट्रिय खेलकुद संघहरुमा नैरास्यता र ब्यतिथि मच्चिएको थियो । कर्मचारीले महिनौंदेखि तलव खान पाएका थिएनन् भने संघहरुमा अराजकताले जडो गाडेको थियो । त्यस्तो अवस्थामा खेलकुदलाई कसरी सम्हाल्ने कुरामा लामा अन्योलमा परेका थिए । चुनौंतिको पहाडमा उभिएका लामालाई केहि सुजेको थिएन । खेलकुद जस्तो रचनात्मक ठाउँमा कुसंस्कारले गहिरो जडो गाडेको देख्दा लामाको केहि समयको लागि बिचलित समेत बनेका थिए । र पनि, आफुले पाएको जिम्मेवारीलाई आत्मसात गर्दै लामाले खेलकुदमा लागेका धमिरालाई हटाउने प्रतिवद्धता जाहेर गर्दै मैदानमा उत्रिएका थिए । परिणाम
अहिले खेलकुद कुनै पार्टी विशेषको नभै विशुद्ध खेलकर्मीको बन्न पुगेको छ ,विकासको बाटोमा लम्किएको छ, व्यथिति र अराजकता समाप्त भएकोछ, राजनिति पार्टीका कार्यकर्ता र नेताहरुको चकचकी पनि समाप्त भएको छ । समग्रमा भन्नुपर्दा खेलकुदको मुहारमा बल्ल हसिलो देखिको छ ।
यो कार्यका लागि लामा प्रसंशा र साधुवादका पात्र बनेका छन ।
लामाले खेलकुद सम्हालेको मात्र ३५ महिना पुगेको छ । यो छोटो अवधिमा उनले खेलकुदमा गरेका कार्यले लामा  निकै चर्चित बन्न पुगेका छन । समग्र खेलकुदको विकासमा लामाको दुरदर्शि सोच र कार्य सम्पादनले अहिले खेलकुदमा नौंलो जोस र उमंग छाएको छ । पूर्वाद्धार,  प्रशिक्षण, प्रतियोगिता र पुरस्कारलाई प्रमुख मुद्दा बनाएका  लामाको यो कार्य अहिले खेलकुदमा नजिरको रुपमा स्थापीत भएका छन । जस्लाई हरेक तह र तप्काका विश्लेषण कर्ताहरुले सह्राएका छन । अझ लामाको कार्य सम्पादनप्रति एमाओवादी पार्टीले समेत  लालमोहर लगाएको छ । एमाओवादीले आफुले नियुक्ति गरेका पदाधिकारीमा लामा सर्वाधिक सफल भएको टीप्पणी समेत सार्वजनिक रुपमा गर्ने गरेको छ । एमाओवादीका नेताले खेलकुद जस्तै अन्य क्षेत्रमा पनि सफलता पाएको भए संविधानसभाको निर्वाचन समेत आफ्नो पक्षमा हुने अभिव्यक्तिहरु समेत दिन हिच्किचाएका छैनन् । तसर्थ छोटो समयमा पनि लामाको कार्यकाल खेलकुदको लागि उर्वर र अविष्मणीय बन्न पुगेको छ ।
अहिले लामाको कार्यकाललाई खेलकुदका नायक शरदचन्द्र शाहको ‘स्वर्णकालसंग तुलना गरिन थालेको छ । बिकास, अनुशासन र गतिशिलताको नारा लिएर खेलकुदको विकासमा होमिएका शाहले खेलकुदको विकासको मुख्य आधार पूर्वाद्धारलाई बनाएका थिए । शाहले पचहत्तरै जिल्लामा बनाएका ‘कवर्ड हल यसका उदारहण हुन । जुन अहिले पनि खेलकुदको मेरुडण्डको रुपमा प्रयोग भैरहेका छन । यहि कुरालाई आत्समात गर्दै लामाले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको नाराको लगाउँदै पूर्वाद्धार, प्रशिक्षण, प्रतियोगिता र पुरस्कारलाई आफ्नो प्रमुख मुद्दा बनाएका थिए । जस्मा लामा सफल भएका छन । आज खेलकुदले कोल्टे फेरेको छ, खेलकुद नाम मात्रको खेलकुद नभै बास्तविक खेलकुद बन्न पुगेको छ । खेलाडीहरु उत्साहित र प्रोत्साहित भएका छन, उनीहरुमा खेलेरै बाँच्न सक्ने आत्मविश्वास पलाएको छ । तसर्थ लामाको छोटो कार्यकाल अहिले आमखेलप्रेमीका लागि प्रेरणादायिक र अविस्मणीय बन्न पुगेको छ । लामाको कार्यकाल अँझै १६ महिना बाँकि छ, यदि यहि रफ्तारमा उनको कार्यशैली अगाडि बढ्यो भने खेलकुदले ठूलो फड्को मार्ने कुरामा सायदै कसैको दुईमत होला ।
र पनि, सवैले स्वीकार्नै पर्ने एउटै तथ्य के हो भने खेलकुदमाथि हुने राजनितीक हस्तक्षेप । जस्ले विगतदेखि बर्तमानसम्मका सदस्य सचिवलाई आफ्नो शिकार बनाई सकेको छ । अहिले पुन: यस्तै परिस्थितिको सृजना भएको छ, राजनितिको तरवार सदस्य सचिव युवराज लामाप्रति पनि तेर्सिएको छ । लामाले आफ्नो बचावका लागि सर्वोच्चको फुल बेन्चले गरेको फैसलालाई ढाल बनाएपनि राजनितिक दबावका अगाडि सर्वोच्चको फैसला कत्तिको असरदार हुन्छ त्यो प्रतिक्षाको विषय बनेको छ । विगतमा खेलकुदलाइ सत्ताको ढाल र राजनितिक क्रिडास्थल बनाउदै आएकाहरुले लामालाई बहिर्गनको बाटो पहिल्याइ रहेको अवस्था छ । यदि लामाले खेलकुदमा गरेको कार्यको कुनै मूल्याङ्कन नै नगरि सरकारले कुनै अप्रिय निर्णय गर्‍यो भने त्यो खेलकुदका लागि साच्चिकै पीडादायिक बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *