उसुमा केशव विष्टको ‘छापामार’ शैली

काठमाण्डौ, खेलपेपर
नेपाल उसु संघको साधारणसभाको उदघाटन गरेर पनि बन्द सत्र र निर्वाचनलाई अवैधानिक मानेर राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले आजका दिनसम्म पनि निर्वाचित कमिटिलाई मान्यता दिन अस्वीकार गरिरहेका छन् । तर नेपालगन्जमा जारी आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका दौरान उसुको खेल संचालन भैरहेका बेला विष्टलाई एक्कासी उसुका केही ‘हुस्सु’हरुले नेपाल उसु संघको अध्यक्ष पनि भनेर संबोधन गरेको पाइयो । यसबाट के प्रष्ट हुन्छ भने राखेप सदस्य सचिव विष्टको उसु संघ हत्याउने प्रयास अझै पनि जारी छ ।

राष्ट्रिय खेलकुद परिषदका काठमाण्डौ आइपुगेका एक कर्मचारीले दिएको जानकारी अनुसार नेपाल उसु संघको अवको अध्यक्ष केशव विष्ट नै हुन् । विर बहादुर तामाङ अध्यक्ष रहेको भनिएको नेपाल उसु संघ विघटन भएको हो त भन्ने प्रश्नमा उनले त्यो विषयमा आफुलाई थाहा नभएको जानकारी दिए तर विर बहादुर तामाङसँग यो विषयमा सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहनु भएन । विर बहादुर तामाङकै कमिटिमा रहेका लाक्पा लामाले भने केशव विष्ट अध्यक्ष भएको दावी गरे । न अहिले अधिवेशन भएको छ ,न कुनै विशेष अधिवेशनको तयारी भएको छ । आठौ राष्ट्रिय खेलकुद चलिरहेका बेला एका एक केशव विष्ट अध्यक्ष भएको चर्चा खेल क्षेत्रमा आएपछि विगतमा माओवादीले संचालन गर्ने छापामार शैलीलाई अहिले सवैले स्मरण गर्न थालेका छन् ।

विर बहादुर तामाङ अध्यक्ष रहेको कमिटिले निर्वाचन सम्पन्न भएको बेला देखी नै मान्यताका लागी राष्ट्रिय खेलकुद परिषदमा पटक पटक पत्राचार गरेको थियो । तर अहिले आएर विर बहादुर बाहेक केही पदाधिकारीहरु नेपालगन्ज नै पुगेर केशव विष्टलाई अध्यक्ष बनाएर फर्किएको चर्चाले नेपाली खेल बजार तातेको छ । कानुनी रुपमा केशव विष्ट अध्यक्ष बन्न संभव नभएको कानुनका जानकारहरु बताउछन् । तर नेपाल उसु संघका केही पदाधिकारीले भने केशव विष्ट अध्यक्ष भइसकेको दावी गरेका छन् । नेपाली खेल क्षेत्रमा राष्ट्रिय खेलकुद परिषदको नेतृत्वमा आएर विभिन्न हतकण्डा अपनाएर खेल संघमा प्रवेश गर्ने विषय नौलो होइन ।

विगतमा जीवनराम श्रेष्ठ पनि राखेपको सदस्य सचिव बनेपछि विभिन्न संघमा प्रतिनिधि बन्दै ओलम्पिक कमिटिमा पुगेका थिए । अहिले उनी नेपाल स्की संघको अध्यक्ष भएर ओलम्पिक कमिटिको पनि अध्यक्ष बन्न सफल भएका छन् । राखेप पूर्व सदस्य सचिव युवराज लामाले पनि नेपाल इक्विस्ट्रियन संघको अध्यक्ष बनेका थिए । तर अहिले आएर उनले सो संघ छाडेर रवि राज कर्णिकारलाई जिम्मेवारी सुम्पेका छन् । राखेपका सदस्य तथा अन्य पदाधिकारीले पनि नेपालका विभिन्न खेल संघमा कब्जा जमाएका उदाहरणहरु प्रसस्तै छन् । त्यसैले विभिन्न बहानामा खेल क्षेत्रको स्थायी बासिन्दा बन्ने रहर केशव विष्टलाई पनि आफनो कार्यकालको उत्तरार्धमा आएर पलाएको छ । केशव विष्टको सदस्य सचिव पदको कार्यकाल आगामी असार ६ गते सकिदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *