एशियाडमा नेपालबाट नक्कली डाक्टर

काठमाण्डौ, खेलपेपर
जसरी र जे गरेर भएपनि एशियाडमा पुग्ने नेपाली खेल अधिकारीहरुको हर्कत सार्वजनिक गर्ने क्रममा अर्को तथ्य फेला परेको छ । नेपालले भलिवल खेलमा पनि बदमासी गरेको तथ्य खुल्न आएको छ । एशियाडमा पुरुष भलिवल तर्फ नेपालले डाक्टरको कोटामा पोखराका एक सामान्य ब्यक्तिको नाम सिफारिस गरेको तथ्य खुल्न आएको छ । डाक्टर नै नभएको ब्यक्तिलाई डाक्टरको कोटामा इन्डानेशिया पठाएपछि उनलाई नक्कली डाक्टर नभनेर के भन्ने? भलिवल खेलका एक अधिकारीले आक्रोशित हुदै भने । उनले भने ‘ देशमा नक्कली डाक्टर विरुद्ध कारवाही  हुने विदेशमा नक्कली डाक्टर बनाएर लैजाने, जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटिको यो कस्तो काम हो । उनले प्रश्न गरे । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव तथा एशियन गेम्सका सेफ दि मिसन केशव विष्टले त्यसै कारण नेपालले इतिहासकै सवैभन्दा बढी पदक जित्ने दावी गरेको होला, उनले ब्यङग्य गरे । राखेप श्रोतले दिएको जानकारी अनुसार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको दवावमा त्यो काम भएको हुन सक्छ । एशियाडको आधिकारीक खेल तालिकामा नेपालको लिष्टमा डाक्टर, थेरापिष्ट, ट्रेनर लेखिएको स्थानमा राज कुमार गुरुङको नाम लेखिएको छ । नेपाल भलिवल संघबाट प्राप्त जानकारी अनुसार ती गुरुङ पोखराका हुन् र उनी संघको सदस्य मात्रै हुन् । ‘उनी डाक्टर पनि होइनन् र थेरापिष्ट पनि होइनन् र ट्रेनर त हुदै होइनन् ।’ एक जना भलिवलका विज्ञले नाम नबताउने सर्तमा यसो भने । केही पनि नभएको ब्यक्तिलाई यसरी विदेश नै पठाउनका लागी बदमासी गर्न थालेपछि खेलको विकास कसरी होला? यो विषयमा नेपाल भलिवल संघका महासचिव जितेन्द्र चन्द सँग सम्पर्क गर्न खोज्दा उहाँले फोन उठाउनु भएन । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विदाईको माला लगाएपनि अन्तिम अवस्थामा आएर महासचिव चन्द पनि इन्डोनेशिया जान नपाएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *