एसियाडमा भएको बदमासी छानविन हुने

काठमाण्डौ, खेलपेपर
युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्माले १८ औं एशियाडका नाममा बदमासी भएका केही प्रमाणहरु फेला परेकाले दोषी उपर कारवाही हुने बताएका छन् । एसियाडमा प्याराग्लाइडिङ खेलमा रजत पदक विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले एसियाडमा भएका कमी कमजोरीको लेखा जोखा गरिने र जे जति बदमासी भएका तथ्यहरु फेला परेका छन् सो अनुसार कारवाही हुने बताए । उनले एसियाडमा नेपाल सरकारलाई थाहै नदिई खेलाडी सहभागी गराउने सम्मका कामहरु भएको पनि दावी गरे । उनले भने ‘ नेपाल सरकारले निर्णय गरेको भन्दा बढी खेल एसियाडमा पुगेको भन्ने थाहा हुन आएको छ । यस्तो क्रियाकलापमा संलग्न सवैलाई कारवाहीको दायरामा ल्याइने छ । ’ उनले एसियाडमा भएका कमी कमजोरीको लेखा जोखा गरी जस जसको जिम्मेवारी हो उनीहरुलाई कारवाहीको दायरमा ल्याउने पनि बताए । उनले भने ‘ नेपाली खेलको विकास नहुनुमा भौतिक संरचना र खेल प्रशिक्षण मात्र नभई हाम्रा केही निहित स्वार्थका कारण खेल क्षेत्रमा समस्या देखिएको छ । त्यसैले त्यस्ता प्रवृतीलाई पनि निरुत्साहीत पार्ने काम अव गरिने छ । ’ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले एसियाड सहभागी टोलीको संख्या बढी भएको स्वीकार गरे । उनले बढी भन्दा बढी खेलाडीले अवसर पाउन् भन्नका लागी सहभागिताको संख्या बढाएको दावी पनि गरे । तर एसियाडमा गएका पदाधिकारी र खेलाडीको संख्या अहिलेसम्म पनि यकिन गर्न राखेप असफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *