ओरियन्टियरिङ स्पोर्टस अव नेपालमा पनि

काठमाण्डौ, खेलपेपर
युरोप र अमेरिकामा अत्याधिक लोकप्रिय खेलका रुपमा रहेको ओरियन्टियरिङ स्पोर्टस विधिवत रुपमा नेपालमा पनि शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदमा २ सय ८ नम्वरमा दर्ता भई आफनो कार्य शूरु गरेको सो संस्थाले स्थापना भएलगत्तै अन्तराष्ट्रिय स्तरमा नै चर्चा बटुल्न सफल भएको छ । अन्तराष्ट्रिय ओरियन्टियरिङ फेडेरेशनका महासचिव तथा प्रमुख कार्यकारी टोम होलोवेलको नेपाल भ्रमण सँगै सो खेलले विश्वब्यापी रुपमा चर्चा बटुलेको हो । आई ओ एफ को आधिकारिक वेवसाइटमा पनि नेपालमा भएको कामको चर्चा गरिएको छ ।

केही साता अगाडी मात्रै नेपाल आएका टोमले दुई दिनको प्रशिक्षण शिविर पनि संचालन गरेका थिए । सो प्रशिक्षण शिविरमा नेपाली सेना, नेपालका अन्तराष्ट्रिय खेलाडी, विभिन्न स्कुलका खेल शिक्षकहरु, पर्यटन ब्यवसायी लगायत विभिन्न साहसिक खेलका खेलाडी सहभागी थिए । प्रशिक्षणका दौरान टोमले नेपाल जस्तो देशमा यस्तो खेलको संभावना अझ बढी रहेको बताएका थिए । नेपालका पहाड, हिमाल, जंगल र विभिन्न भुभागलाई प्रयोगमा ल्याउन सकिने भएकाले ओरियन्टियरिङ खेल नेपालमा थप सफल हुने विश्वास ब्यक्त गरे । उनका अनुसार नेपालका स्कुल र कलेज तहमा यसलाई पाठ्यक्रमका रुपमा नै राख्न नेपाल सरकारले पहल गर्नु पर्ने पनि उनले आफनो भ्रमणका दौरान बताए ।

दौड, माउन्टेन बाइकिङ र स्कीको तीन वटा विधामा खेल्न सकिने यो खेल खेल्नका लागी म्याप( नक्सा) , कम्पास र शारिरिक क्षमताको उपयोग गर्नु पर्ने हुन्छ । युरोपमा हरेक विद्यालयमा मात्र नभइृ हरेक उमेर समुहका मान्छेहरुले यो खेल खेल्ने गरेको पाइन्छ । यो खेलले विद्यार्थीको क्षमतामा पनि ब्यापक विकास गर्ने भएकाले थप फलदायी हुने विश्वास गरिएको छ । यसै विच नेपाल ओरियन्टियरिङ फेडेरेशनले दिएको जानकारी अनुसार आगामी मे ८ तारिखबाट सो खेलको विशेष प्रशिक्षणका लागी ब्राजिलियन प्रशिक्षक नेपाल आउने भएका छन् । उनले दुई सातासम्म नेपालमा रहेर प्रशिक्षण दिने बताइएको छ । हरेक बर्ष मे १५ तारिखका दिन विश्वभरी नै वल्र्ड ओरियन्टियरिङ डे मनाउने गरिएको छ । यो पटकबाट नेपालमा पनि विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको फेडेरेशनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *