ओलम्पिक कमिटिमा चुनावी चटारो

खेलपेपर,काठमाण्डौ । सर्वोच्च अदालतको आदेशको वास्ता नगर्दै झण्डै ११ बर्षदेखी नेपाली खेल क्षेत्रमा राज गर्दै आएको नेपाल ओलम्पिक कमिटि यतीबेला निर्वाचनको तयारीमा जुटेको छ । सर्वोच्च अदालतले आज भन्दा दश बर्ष अगाडी नै वर्तमानमा जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटिको वैधानिकता नरहेको बताइसकेको थियो । एक बर्ष अगाडी मात्रै पनि फेरि सर्वोच्च अदालतको फुल बेन्चले सो विषयलाई सदर गरेको थियो । तर पनि कार्यपालिका आफनो पार्टीको हातमा रहेको आधार बनाउदै जीवनराम श्रेष्ठ समुहले अदालतको आदेशलाई अपमान गर्ने क्रम अहिलेसम्म जारी नै छ । पछिल्लो समय रुक्म शमशेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटिसँग सहकार्य गरेर अगाडी बढ्ने तयारीमा जीवनराम श्रेष्ठको समुह जुटेको केही गोप्य भेटघाटले पुष्टि गरेको छ । रुक्म शमशेर राणाका पाँच जनालाई वर्तमान ओलम्पिक कमिटिमा भित्राउने तयारी भएको पनि बुझिएको छ ।
खाली अहिले कुरा नमिलेको भनेको उनीहरुले भोटिङ राइट पाउने वा नपाउने भन्ने विषय मात्रै हो । रुक्म शमशेर राणा समुहको पछिल्लो मौनताले पनि यो विषयलाई पुष्टि गरिसकेको छ । जीवनराम श्रेष्ठले पछिल्लो समय चार वटा संघलाई ओलम्पिक कमिटिमा भित्राउने योजना अगाडी सारेपनि त्यो अहिलेसम्म सफल हुन नसकेको बुझिएको छ । प्राप्त जानकारी अनुसार गल्फ, पेन्टाथलोन, आइस हक्की र रोइङलाई यही पटकको निर्वाचनमा भोट हाल्न पाउने गरी भित्राउने योजना जीवनराम श्रेष्ठले बनाएको बुझिएको छ ।
तर यो विषयमा ओलम्पिक कमिटिको हालैको बैठकमा विवाद भएपछि ती संघ प्रवेश हुन पाएनन् । नेपाल गल्फ संघबाट टासी घले, पेन्टाथलनबाट राजेन्द्र श्रेष्ठ र रोइङबाट तत्कालिन एमाले नेता ठाकुर गैरे ओलम्पिक जाने योजनामा थिए । त्यस्तै आइस हक्कीबाट धिरेन्द्र प्रधान ओलम्पिक कमिटिमा प्रवेश गर्ने योजना बुन्दै थिए । यो घटनाक्रमबाट के पुष्टि हुन्छ भने नेपाल ओलम्पिक कमिटि भन्ने संस्था खेलको विकासका लागी नभै आफनो ब्यक्तिगत अभिष्ट पुरा गर्नका लागी नेपालमा स्थापना भएको संस्था हो । खेलको विकासका लागी हो भने रोइङ, पेन्टाथलोन र आइसहक्की कुनै पनि अवस्थामा नेपालमा संभव नै छैन । नेपालमा यी खेलका खेलाडी पनि अहिलेसम्म छैन । तर यो खेललाई ओलम्पिक कमिटिमा भित्राएर भोट लिने र आफना मान्छेहरुलाई ओलम्पिक कमिटिको विभिन्न पदमा आसिन गराउने योजनमा जीवनराम श्रेष्ठ लागेका छन् ।
तर उनको यो योजना हालका लागी भने स्थगित भएको छ । यो विषयमा एकमत बनाउन अहिले जीवनराम श्रेष्ठ विभिन्न ब्यक्तिसँग एकल र सामुहिम भेटघाटमा ब्यस्त रहेको श्रोतले जनाएको छ । एक कार्यकाल अध्यक्ष बनिसकेका जीवनराम श्रेष्ठ पनि नेपालमा संभावना नै नभएको स्की संघको अध्यक्ष बनेर ओलम्पिक कमिटि प्रवेश गरेका हुन् । जीवनराम श्रेष्ठका पुत्रले स्कीका धेरै वटा अन्तराष्ट्रिय प्रतियोगितामा असफल सहभागिता पनि जनाइसकेका छन् । प्राप्त जानकारी अनुसार आगामी सेप्टेम्वरको पहिलो साता नेपाल ओलम्पिक कमिटिको निर्वाचन हुने भएको छ । त्यसका लागी अहिले जीवनराम श्रेष्ठ चुनावी माहोल बनाउन ब्यस्त देखिएका छन् । निर्वाचन केही महिना धकेल्ने जीवनराम श्रेष्ठको योजना पनि अन्तराष्ट्रिय ओलम्पिक कमिटिले तुहाइदिएको छ । निर्धारित समयमा नै निर्वाचन गर्न आई ओ सी ले नेपाललाई निर्देशन दिइसकेको पनि बुझिएको छ ।
जीवनराम श्रेष्ठसँग अहिले पदका लागी बार्गेनिङ गर्नेहरुको पनि संख्या बढेको बुझिएको छ । खेलकुदकै कार्यक्रममा कुनै बेला विदेश गएर उतै लामो समय बसेर पछिल्लो समय नेपालमा स्थायी बसोवास गरिरहेका निलेन्द्र श्रेष्ठ पनि अहिले महासचिव बन्ने दाउमा छन् । उनी सँगै चतुरानन्द वैद्य, रामजी श्रेष्ठ, राजिव श्रेष्ठ लगायतले पनि महासचिवमा आफनो दावेदारी प्रस्तुत गरेको बुझिएको छ । जीवनरामले चार वटा संघलाई मान्यता दिन सक्ने हुन वा होइनन् र उनले महासचिवमा कसलाई समर्थन गर्छन् त्यसले नै उनको आगामी कार्यकाल रहने हो वा होइन भन्ने पनि तय गर्ने श्रोतको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *