कर छलेको आरोप खेप्दै फुटबलर नेम्यार

रियो, एजेन्सी । कर छलेका विभिन्न ४ ओटा अभियोगमा ब्राजिली फुटबल स्टार नेम्यारविरुद्ध अनुसन्धान सुरु भएको छ । बार्सिलोनाका स्ट्राइकर नेम्यारलाई सन् २००६ देखि सन् २०१३ को बीचमा कम कर बुझाएको आरोप लागेको छ । अधिकारीहरूका अनुसार नेम्यारले नक्कली कम्पनी खडा गरेर कर छुट लिने गरेको पाइएको छ । अधिकारीहरूले कर छली र जालसाँजीमा उनका पिता नेम्यार दा सिल्वा सान्तोसमाथि पनि अनुसन्धान भइरहेको जनाएका छन् । ब्राजिली अधिकारीहरूका अनुसार बार्सिलोनाका अध्यक्ष जोजफ मारिया बार्टोम्यु र पूर्वअध्यक्ष सेड्रो रोजेलविरुद्ध पनि अभियोग पत्र तयार गरिएको छ । उता, स्पनेमा पनि नेम्यारविरुद्ध अर्को अभियोगमा मुद्दा चलिरहेको छ । उनले क्लबबाट स्थानान्तरण हुने बेलामा जालसाँजी गरेको आरोप लगाइएको छ । सो विषयमा मंगलबारबाट सुरु भएको सुनुवाइमा नेम्यार आफैं अदालतमा उपस्थित थिए । बार्सिलोनाले जनाएअनुसार सन् २०१३ मा क्लबमा अनुबन्ध हुने बेलामा उनलाई ५७ मिलियन युरो दिइएको थियो । तर, अनुसन्धान अधिकारीहरूले भने त्यतिबेला उनलाई ८३ मिलियन युरो दिएको दाबी गरिरहेका छन् । उता, नेम्यारले भने आफूमाथि लागेका सबै आरोप निराधार भएको दाबी गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *