खेलकुदमा यस्तो ‘लज्जाशरणम’ कहिलेसम्म?

राधेश्याम दाहाल
काठमाण्डौ, २ साउन
नेपाली खेलकुदमा देखिएको यस्ता खाले विकृतीका विरुद्ध लेख्न थालिएको २० बर्ष भइसक्यो तर त्यो प्रवृती कम हुदै जानुको सट्टा बढ्दो क्रममा छ । ठुला ठुला नीति र आदर्शका गफ गर्ने र पद्धतीको कुरा गर्ने नेताहरुबाटै नेपाली खेल क्षेत्रको बलात्कार गर्ने काम रोकिएन । कोभिडका कारण एक बर्ष सरेको ओलम्पिक खेलमा नेपालको सहभागिता फेरि एक पटक चर्चाको विषय बनेको छ ।
नेपालले सन् १९६४ मा पहिलो पटक जापानमा भएको ओलम्पिक खेल मार्फत ओलम्पिक यात्रा शुरु गरेको थियो । जापानले आज दोस्रो पटक ओलम्पिक खेल आयोजना गर्दैछ तर नेपाल भने अहिले पनि वाइ्ल्ड कार्ड अर्थात दया मायामा दिइने खेल्ने अवसरमा नै दंग परेर बस्नु पर्ने अवस्थामा छ । त्यती बेला नेपाल र जापानको स्तर उस्तै उस्तै थियो भन्दा फरक नपर्ला । तर आज नेपाल र जापानको तुलना गर्न मिल्ला?
अन्तराष्ट्रिय खेल प्रतियोगिताको सहभागिता अहिले पनि नेपाली खेल अधिकारीका लागी राम्रो विदेश भ्रमण बाहेक केही पनि होइन भन्दा फरक नपर्ला । विदेश भ्रमणकै लागी नेपालको ओलम्पिक कमिटिमा प्रवेश गर्नेहरुको लर्को हिजो पनि त्यस्तै थियो अहिले पनि त्यस्तै छ । त्यसको सवैभन्दा गतिलो उदाहरण हुन् एमालेका नेता बामदेव गौतमकी पत्नी तुलसी थापा । उनलाई जीवनराम श्रेष्ठकै विशेष पहलमा नेपाल कबड्डी संघको अध्यक्ष बनाइएको थियो । त्यती बेला सरकारमा भएको फाइदा उठाएर लाल कुमार लामालाई हटाएर कबड्डी संघमा थापा प्रवेश गरिन् । उमेरकै हिसावले पनि उनको खेल यात्रालाई राम्रो मान्न सकिदैन । उनी सोही संघ मार्फत नेपाल ओलम्पिक कमिटिमा सचिव पनि बन्न सफल भइन्् । ओलम्पिक कमिटिमा जानुको एक मात्र उदेश्य थियो निशुल्क विदेश भ्रमण । त्यसलाई सफल सावित गर्न तुलसी थापा अहिले सफल भइन् । उनी जुडो खेलको ब्यवस्थापकको कार्ड भिरेर जापान पुगेकी छिन् । उनको यो अभियानलाई सांसद समेत रहेका जीवनराम श्रेष्ठले सहयोग गरे । केपी ओलीले पद्धतीलाई आत्मसात गरेनन् भनेर विरोध गर्ने जीवनराम श्रेष्ठको ओलम्पिक कमिटिको बदमासी यती मात्र होइन । अरु दर्जनौलाई पनि जापान घुमाउन उनले यस्तो हर्कत गरेका छन् । फेन्सिङ संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठ सुटिङ खेलको ब्यवस्थापक भएर जापान पुगेका छन् । तेक्वान्दो संघको अध्यक्ष प्रकाश शमशेर राणा पनि जुडो ब्यवस्थापक भएर जापान पुगेका छन् ।
पूर्व बक्सिङ खेलाडी तथा वर्तमान नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले पौडी खेलको ब्यवस्थापक भएर जापान पुगेका छन् । युवा तथा खेलकुद मन्त्रालयको सचिव जस्तो गरिमामय पदमा आसिन केदार न्यौपाने ओलम्पिक अट्याची अर्थात सहयोगीको कार्ड भिरेर जापान पुगेका छन् ।
राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष पदमा आसिन शिव कोइराला पनि एथलेटिक्स खेलको ब्यवस्थापक भएर जापान उडेका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्यहरु सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठ समेत ओलम्पिक कमिटिको कर्मचारीको कार्ड भिरेर जापान पुगेका छन् । अमेरिकामा रहेका पिताम्वर तिम्सिना एथलेटिक्सको ब्यवस्थापक बनेर उतैबाट जापान पुग्ने बताइएको छ । यो सवै टोलीको नेतृत्व गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल जापान पुगेका छन् । यस्तो टोलीले जापानमा नेपालको झण्डा फहराउदा देशको इज्जत आयो वा गयो त्यो तपाईहरुले नै विश्लेषण गर्नुहोला । यो टोलीमा जानेहरुले दैनिक भ्रमण भत्ता पनि लिने गर्छन् । त्यो पनि डलरमा ।
नेपालको खेलकुद क्षेत्रमा आउन खोज्नेहरु मध्ये धेरैको चाहना यस्तै सहभागिताका लागी हो । जीवनराम श्रेष्ठले पनि यस्तै अवसरका लागी नेपाली खेल क्षेत्रमा प्रवेश गरे र आजसम्म त्यही गरिरहेका छन् । यो वेथितिले नेपाली खेल क्षेत्रमा जरो गाडेको बर्षौ भइसक्यो । यी विषयलाई नेपाली संचार माध्यमहरुले पटक पटक उठान गरेकै छन् । तर कहिले पनि यो विषय राज्य संचालकहरुको प्राथमिकतामा परेन् । उल्टो यो टोलीलाई राष्ट्रपतिले समेत विदाई गरेर झण्डा हस्तान्तरण गरेर जापान पठाइन् । ५ दशक भन्दा बढी भइसक्यो नेपालको ओलम्पिक यात्रा तर अझै पनि वाइल्ड कार्डमै यात्रा सीमित छ । वाइल्ड कार्ड भनेको सवैको सहभागिता होस भन्नका लागी केही खेलमा ओलम्पिक सदस्य राष्ट्रलाई सहभागी हुने अवसर दिने ब्यवस्था हो । यही ब्यवस्थाका कारण नेपाल जस्ता देशमा ओलम्पिक कमिटिको क्रेज कायम छ । नेपालका राज्य संचालकको चासो भित्र खेल कहिले परेन । उनीहरुले चासो नराख्दा खेलका नाममा झेल गर्नेहरुलाई सधै फाइदा पुगिरहेकै छ ।
तुलसी थापा प्रवृती, जीवनराम प्रवृती र रमेश सिलवाल प्रवृतीलाई बल पुग्ने काम भएको छ । खेल र खेलाडीको स्तर बृद्धीका लागी, अन्तराष्ट्रिय प्रशिक्षण, विभिन्न खालका अध्ययन र प्रतिभा पहिचान गर्ने वैज्ञानिक कार्यक्रम संचालन गर्ने र त्यसका लागी विभिन्न देश सँग समन्वय गरेर कार्यक्रम संचालन गर्ने तर्फ नेपालको खेल क्षेत्र कहिले लागेन । नेपालमा ओलम्पिक कमिटिको काम भनेकै यस्तै कार्यक्रम हुदा आफुलाई मन परेको मान्छे र टोलीलाई विभिन्न बहानामा विदेश घुमाउने मात्रै भएको छ । लाज भन्ने शब्दलाई पनि लाज हुने गरी फेरि एक पटक जापान यात्रा भएको छ । ओली सरकारले गलत गरेको सवैले देखे होलान् तर नेपालको खेल क्षेत्रमा ‘ओली प्रवृती’ले जरो गाडेको बर्षौ भइसक्यो । जुन लुगा र जुन पहिरन लगाएर खेल क्षेत्रमा प्रवेश गरेपनि आजका दिनसम्म खेलमा आउनेहरुले गलत नै मात्र गरेका छन् । राज्यको मुख्य प्राथमिकता भित्र नपरेका कारण खेलका नाममा झेल गर्नेहरुको एउटा झुण्डले खेल र खेलाडीको भावनामा बलात्कार गरिरहेका छन् । नेपालको खेल क्षेत्र खेलाडीका लागी कहिले बन्नै सकेन् । सधै खेल पदाधिकारीको मोज गर्ने स्थल बनिरहेको छ । नयाँ सरकारले नया शैलीमा खेलकुदको बारेमा केही गर्ने योजना तयार गरोस् । अन्यथा यस्ता बेथिति आगामी दिनमा अझै धेरै देख्नु पर्ने हुन्छ । अहिले भएको वेथितिको पनि हिसाब किताब र लेखाजोखा होस् । खेल र खेलाडीको चाहना यस्तै छ । सवैलाई चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *