जोशीको निधनले बुद्धिचाल संघ स्तब्ध

काठमाण्डौ, ३१ जेठ
नेपाल बुद्धिचाल संघले पूर्व अध्यक्ष राजेशहरि जोशीको निधनमा गहिरो समवेदना ब्यक्त गरेको छ । सोमबार एक बिज्ञप्ती निकाल्दै संघले नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष एवं बिश्व बुद्धिचाल महासंघ अनुशासन आयोगका सदस्यको निधनमा समवेदना ब्यक्त गरेको हो । ६५ बर्षे जोशीको आईतबार हृदयघातका कारण ललितपुरमा निधन भएको हो । हृदयघातका कारण ललितपुरस्थित बि.एण्ड बि. अस्पताल पु¥याउँदा चिकित्सकले साँझ ७ बजे मृत्यु घोषणा गरेको महासचिव हेराकाजी महर्जनले जनाएका छन् । नेपालमा बुद्धिचाल खेलको बिकास र विस्तारमा जोशीको ठुलो योगदान रहेको संघले जनाएको छ । उनको ८ बर्षे कार्यकाल नेपालको बुद्धिचाल खेल बिकास र विस्तारको लागि कोशे ढुङ्गको रुपमा रहेको खेलाडीहरुले लिने गरेको बिज्ञप्तीमा जनाईएको छ । उनकै नेतृत्व रहेको अवस्थामा नेपालले पहिलो फिडे मास्टर मनिष हमाल र अन्तराष्ट्रिय आर्विटर ज्ञानेन्द्र खाईजु उत्पादन गरेको थियो । उनको कार्यकाल अगाडी नेपालमा रेटेड खेलाडीहरु ९, १० जना मात्र रहेकोमा नेपालमानै रेटिङ्ग प्रतियोगिताहरु संचालन भए पश्चात ६०० को हाराहारीमा पुगेको थियो । जोशीले बुद्धिचाल खेललाई अन्तराष्ट्रिय जगतमा स्थापित गर्न ठुलो योगदान गरे । जसका कारण नेपालको बिश्व जगतमा पनि प्रतिष्ठामा बृद्धि हुन पुग्यो । सन् २०१४ मा नर्वेमा सम्पन्न फिडे काँगे्रसबाट बिश्व बुद्धिचाल महासंघको कार्य समिति सदस्य र अनुशासन आयोगको सदस्यमा निर्वाचित भए । यस्तै २०१८ मा जर्जियाको बतुमीमा भएको काँग्रेसबाट दोश्रो कार्यकालको लागि पुनः अनुशासन आयोगमा निर्वाचित भए । यस्तै जोशीले सन् २०१४ देखि २०१७ सम्म नेपाल, बंगलादेश, भुटान, मालदिप्स, पाकिस्तान र श्रीलङ्का सम्मिलित एशियन जोनल ३.२ को अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका थिए । जोशी नेपालको खेल ईतिहासमा अन्तराष्ट्रिय सर्वोच्च पदमा पुग्ने पहिलो ब्यक्ति रहेको संघको दावी छ ।
जोशीको कार्यकालमा सन् २०१० मा रशिया, फ्रान्स, स्लोभानिया, भारत, युक्रेनका ग्रान्ड मास्टर्स सहभागिता रहेको अन्तराष्ट्रिय ग्राण्ड मास्टर प्रतियोगिता, एशियन जोनल ३.२ प्रतियोगिता दुई पटक र साउथ एशियन प्रतियोगिता महत्वपूर्ण प्रतियोगिता भएको थियो । जोशीको नेतृत्व अगाडी नेपाली चेल खेलको प्राविधिक पक्ष शुन्य प्राय रहेको अवस्थामा उनको अन्तराष्ट्रिय सम्वन्ध र सक्रियताका कारण अहिले नेपालमा १० जना अन्तराष्ट्रिय आर्विटर, २० जना फिडे आर्विटर, ५० भन्दा बढि राष्ट्रिय आर्विटर र ५० जना प्रशिक्षकहरु रहेको महासचिव हेराकाजी महर्जनद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।
२०१३ साल बैशाखमा जन्मिएका स्व. जोशीका श्रीमती, एक छोरा, एक छोरी र पिता, माता रहेका छन् । सहकारी अभियन्ताको रुपमा समेत परिचित जोशिको निधनले नेपाली खेल जगतका साथै बुद्धिचाल खेलले अपुरणिय क्षती ब्यहोरेको बिज्ञप्तीमा जनाईएको छ । जोशीको मंगलबार अन्त्यष्टि हुने महासचिव महर्जनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *