डोपिङको नयाँ प्रतिवेदन आगामी साता

पेरिस, एजेन्सी । वल्ड एन्टि डोपिङ एजेन्सी ( वाडा) ले बढ्दो अवस्थामा रहेको डोपिङ प्रयोग बारे एक प्रतिवेदन आगामी साता सार्वजनिक गर्ने भएको छ । वाडाले जारी गरेको विज्ञप्तिअनुसार सो प्रतिवेदन आउँदो जनवरी १४ तारिखमा सार्वजनिक गरिनेछ । पछिल्लो समय खेलाडीहरूले व्यापक मात्रामा निषेधित औषधि प्रयोग गरेको गुनासो बढ्न थालेपछि वाडाले स्वतन्त्र कमिशन गठन गरेर छानबिनको जिम्मा दिएको थियो । सोही कमिशनले तयार गरेको प्रतिवेदन आगामी साता सार्वजनिक हुँदै छ । वाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय खेलाडीहरूमा गरिएको डोपिङ परीक्षण र छानबिन सहितको सबै तथ्य समावेश गरिएको प्रतिवेदन रिचार्ड पाउन्डले सार्वजनिक गर्नेछन् ।’ सो प्रतिवेदनमा आपराधिक स्वभावका डोपिङका विषय पनि सार्वजनिक हुने बताइएको छ । वाडाले आफ्नो पहिलो रिर्पोट गत नोभेम्बरमा सार्वजनिक गरेको थियो । जसमा रसियाली खेलाडीहरूमा राज्यले नै डोपिङका लागि प्रेरित गरेको र अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघमा व्यापक भ्रष्टाचार भएको जस्ता विषय पनि बाहिर आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *