थिमिमा बन्ने भयो जिम्न्याष्टिकको पूर्वाधार

काठमाडौं, असार १७ गते ।
भक्तपुरमा जिम्न्याष्टिकको सुविधासम्पन्न कभर्ड हल बन्ने भएको छ । जिम्न्याष्टिक खेलको कभर्डहल लगायतका पूर्वाधार निर्माण गर्न भक्तपुर जिल्ला स्थित मध्यपुर थिमी नगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा बिहीबार त्रिपक्षीय सम्झौता भयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रमेशकुमार सिलवाल, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे । मध्यपुर थिमी नगरपालिका वडा ९ स्थित लुखापाटीमा ३-९-२-० क्षेत्रफल जग्गा पूर्वाधार निर्माण गर्न उपलब्ध गराइएको हो । उक्त जग्गा राखेपलाई ५० वर्षका लागि लिजमा उपलब्ध गराउने तथा राखेप, नगरपालिका र जिम्न्याष्टिक संघ समेत मिलेर जिम्न्याष्टिक कभर्डहललगायतका पूर्वाधारको विकास गरी त्यसको उपभोग एवं सञ्चालन भने जिम्न्याष्टिक संघले गर्ने सहमति भएको छ । उक्त कार्यक्रममा जिम्न्याष्टिक संघका सह अध्यक्ष किशोरबहादुर सिंह, महासचिव मुकुन्दराज शर्मा, सचिव वचन देउजा, राखेपअन्तर्गत कानून शाखाका प्रमुख नारायणराज अर्याल, नगरपालिका कर्मचारीलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *