नेत्रहीन महिला टोलीले पाकिस्तानसँग खेल्ने

खेलपेपर, काठमाडौं।
११ माघ २०७५

नेपालको राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीले पहिलो पटक आयोजना हुन लागेको नेपाल र पाकिस्तानको महिला नेत्रहीन क्रिकेटसँग पाँच खेलको सिरिज खेल्ने भएको छ ।

यही माघ १३ देखि २३ गतेसम्म पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्ले आयोजना गर्ने सिरिजमा पाँच खेल हुनेछ ।  यहाँ आयोजित बिदाइ कार्यक्रममा टिमका प्रशिक्षक र कप्तानले पाकिस्तान विरुद्धको पाँच खेलको सिरिज जित्ने दाबी गर्नुभयो । नेपालको नेत्रहीन महिला क्रिकेट टोलीले पहिलो पटक विदेशमा गएर खेल्न लागेको हो ।

शनिबार पाकिस्तान जाने नेपाली टोलीलाई नेत्रहीन क्रिकेट सङ्घले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिनाले शुभकामनासहित बिदाइ गर्नुभयो । महिला क्रिकेट टोलीकी कप्तान भगवती भट्टराईले यस पटक राम्रो तयारी गरेकोले पाकिस्तान विरुद्धको सिरिज जित्ने लक्ष्य रहेको बताइन् । नेपाल नेत्रहीन क्रिकेट सङ्घका अध्यक्ष पवन घिमिरेले पहिलो पटक विदेशमा गएर खेल्न नेपाली नेत्रहीन महिला क्रिकेट टोली उत्साहित रहेको बताउनुभयो ।

नेपाली टोलीमा भगवती भट्टराई बराल (कप्तान), भगवती अमगाई, मनकेसी चौधरी, सुषमा तामाङ, आशिका डगौरा आशा रेग्मी, गीता पौडेल, विनिता पुन, हिता गुरुङ, मुना अर्याल, रीता देवी थापा, सरीता घिमिरे, विमला राई, आयुष्मा क्षेत्री, भुमा खरेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *