नेपाली राष्ट्रिय महिला टोली थाइल्याण्ड प्रस्थान

खेलपेपर, काठमाडौं।
४ फाल्गुन २०७५

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइिसिसी) महिला विश्वकपअन्तर्गत एशिया क्षेत्रको छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली शनिबार थाइल्याण्ड प्रस्थान गरेको छ ।

यही फागुन ४ देखि १५ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको शुक्रबार घोषणा गरिएको थियो ।
नेपाली टोलीमा रुबिनासहित सीता रानामगर (उपकप्तान), सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सारा बेगम, ममताकुमारी चौधरी र विन्दु रावल छन् । टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् भने सहायक प्रशिक्षकमा नीरा राजोपाध्याय थाइल्याण्ड प्रस्थान गरेका छन् ।

सात टोली सहभागी उक्त छनोट प्रतियोगितको आफ्नो पहिलो खेल नेपालले यही फागुन ७ गते मलेशियासँग खेल्नेछ । दोस्रो खेल फागुन ९ गते थाइल्याण्डसँग, १० गते संयुक्त अरब इमिरेट्स (यूएइ), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनको आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ । नेपाली टोलीलाई आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट र पुरुष क्रिकेट टोलीका प्रशिक्षक जगट टमाटालगायतले जितको शुभकामनासहित बिदाइ गर्नुभयो ।

सो अवसरमा सदस्य सचिव कुमार विष्टले महिला क्रिकेट खेलाडीको तलब भत्ताका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीसँग प्रस्ताव गर्ने बताउनुभयो । “महिला क्रिकेटरको तलब सुविधाका लागि आइसिसीसँग यसै साता कुरा गर्नेछु”, उहाँले भन्नुभयो ।

महिला फुटबलले प्राप्त गरेको नतिजाको उदाहरण दिँदै उहाँले छनोट खेलमा उच्च मनोबलका साथ मैदान उत्रन आग्रह गर्नुभयो । कार्यक्रममा महिला क्रिकेटका मुख्य प्रशिक्षक विनोद दास र कप्तान रुविना क्षेत्रीले प्रशिक्षण राम्रो भएकाले नेपालको लक्ष्य छनोट हुने रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *