पाँच खेलाडी आईओएफटीसीका लागि छनोट

तेश्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताबाट पाँच खेलाडी अमेरिकाको मिसिगनमा सन् २०२० को मेमा हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन् ।रत्ननगर, सरित सौरहा, न्यु स्टार, सौरहा, पिठुवा र इच्छाकामना तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताबाट सीतापाइला तेक्वान्दो डोजाङबाट ३ तथा कोटेश्वर र मैत्री तेक्वान्दो डोजाङबाट १–१ गरी ५ खेलाडी छनोट भएका हुन् । त्यसमा पुरुष ३ र महिला २ छन् ।

पुरुषमा सीतापाइलाका सैलेशराज गिरी, कोटेश्वरका रन्जित साउद र मैत्रीका दिनेश सुनार छनोट भए । महिलामा आयशा तामाङ तथा सुस्मिता मोक्तान छन् । दुवै सीतापाइलाका हुन् । छनोटसंगै पाँचै खेलाडीले समान १–१ लाख नगद पुरस्कार पनि पाए ।आईओएफटीसी र मैत्री तेक्वान्दो डोजाङको सहयोगमा चितवनको रत्ननगरमा भएको प्रतियोगिताको पुरुषमा कोटेश्वरका विवेक केसी तथा महिलामा सरित सौरहाकी स्नेहा परियार उत्कृष्ट खेलाडी घोषित भए । पुम्सेमा भ्याली डिभिजनकी रोशनी श्रेष्ठ उत्कृष्ट खेलाडी बनिन् । गोविन्द सापकोटा उत्कृष्ट निर्णायक तथा भैरहवाका कोसिश खड्का अनुशासित प्रशिक्षक चुनिए ।

इच्छा मनकामनाले उत्कृष्ट सहभागिताको पुरस्कार पायो । सबै ६ विधाका उत्कृष्टले समान २५–२५ हजार नगद पुरस्कार हात पारे ।विजेतालाई रत्ननगर नगरपालिकाकी उप मेयर विमला दवाडी, आईओएफटीसीका निर्देशक दिवाकर महर्जन, लव गोर्खाली, आयोजक रत्ननगर तेक्वान्दो डोजाङका अध्यक्ष एवं प्रतियोगिता संयोजक पुष्पराज जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा विभिन्न ५४ स्पर्धामा ७ सय बढी खेलाडीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *