फुटबलमा ऐतिहासिक उपलब्धि

एजेन्सी, काठमाडांै । दुई दशकयता कुनै पनि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जित्न नसकेको नेपाललाई यू–२३ टिमले ऐतिहासिक सफलता दिलाएको छ ।
उमेर समूहको खेल भए पनि नेपालले बंलादेशबाट पाएको यो सफलतालाई फुटबल प्रेमीले ठूलो उपलब्धि मानेका छन् । यू–२३ प्रतियोगितामा नेपालले जितेको यो पहिलो उपाधि पनि हो । बंगबन्धु कप फुटबलको फाइनलमा बहराइनलाई ३ शून्य गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि उचाल्यो । नेपालको जितमा विमल घर्ती मगर, विशाल राई र नवीन श्रेष्ठको गोल महत्वपूर्ण रह्यो । खेलको पाँचौँ मिनेटमै विमलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । पहिलो हाफ सकिएर दोस्रो हाफको पनि उत्तरार्ध पुग्ने बेलासम्म नेपाल एक गोलमै अड्किएको थियो । खेल सकिनै लाग्दा दुवै टिमबीच झडपको अवस्था आएपछि नेपाल र बहराइनका एक÷एक जना खेलाडी रातो कार्ड पाएर मैदानबाट बाहिरिए । नेपालका सुमन लामा बाहिरिने खेलाडी बनेका थिए । फाइनल खेलको म्यान अफ दी म्याच विमल घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी भने नवयुग श्रेष्ठ घोषित भए । बहराइन विरुद्धको खेलमा पहिलो गोल पनि विमलले नै गरेका थिए ।
८७औं मिनेटमा विशाल राईले नेपालका लागि दोस्रो गोल गरेका थिए । यो गोल भएको ४ मिनेट पनि बित्न नपाउँदै नेपालले फेरि अर्को गोल ग¥यो । नेपालका लागि नवयुग श्रेष्ठले तेस्रो गोल गरे । नवयुगले यसअघिको सेमिफाइनलमा पनि मालदिभ्सलाई पराजित गर्ने क्रममा ह्याट्रिक गरेका थिए । नेपालले सन् १९९३ मा दक्षिण एसियाली खेलकुदअन्तर्गत फुटबल खेलमा स्वर्ण पदक जितेयता अर्को कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको थिएन । शुक्रबारको जितले नेपालको उपाधि खडेरी पनि समाप्त भएको छ । नेपालले सन् २००९ मा प्रधानमन्त्री कप फुटबलको अन्तर्राष्ट्रिय उपाधि पनि जितेको थियो तर त्यो प्रतियोगिता अनौपचारिक थियो ।
बहराइनविरुद्ध नेपालले यसअघि सन् २०१३ मा मैत्रीपूर्ण खेल खेलेको थियो । यू–२३ टिमले खेलेको सो खेलमा नेपाल ३ शून्य गोल अन्तरले पराजित भएको थियो । नेपालले समूहगत चरणमा मलेसियासँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै, बंलादेशविरुद्ध एक शून्य गोल अन्तरको जित दर्ता गराएको थियो । श्रीलंकालाई पनि पराजित गर्न नेपाल सफल भएको थियो । पूर्वखेलाडी बाल गोपाल महर्जनले प्रशिक्षकको जिम्मेवारी पाएपछि भएको पहिलो प्रतियोगितामै उपाधि जित्न नेपाल सफल भएको छ । उमेर समूहमा पाएको यो सफलताले नेपाली फुटबल खेल नयाँ युगमा प्रवेश गरेको फुटबलविद्ले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *