ब्रिटिस कलेजद्वारा डिफेन्डिङ च्याम्पियन मोर्गन पराजित

काठमाडौं, असार ४ गते ।
द ब्रिटिस कलेज, गोल्डेनगेट इन्टरनेसनल कलेज र ग्रिनफिल्डले द ब्रिटिस कलेज कप सातौं पुरुष तथा महिला यु–१८ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बुधबार जित हात पारेका छन् । राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित ओलम्पियन सेमी कभर्डहलमा भएको खेलमा ब्रिटिसले डिफेन्डिङ च्याम्पियन मोर्गन इन्टरनेसनल कलेजलाई ६१–५५ ले पराजित गर्‍यो । विजयी टिमका लागि रवि चालिसेले १९ अंक योगदान गरे । उर्गेन छोपेलको १२ अंक सहयोगमा गोल्डेनगेटले ज्ञाननिकेतनलाई ५६–२९ ले हरायो । ग्रिनफिल्डले नासा इन्टरनेसनल कलेजलाई ५४–४३ ले पन्छायो । विजेताका नवीन खत्रीले १९ अंक जोडे । पुरुषमै ट्रिनिटी इन्टरनेसनल कलेजले ओलम्पिया वल्र्ड कलेजलाई ५६–३७ ले पाखा लगायो । ट्रिनिटीका आशिष बस्नेतले २० अंक बटुले । जितसंगै ट्रिनिटी समूह ‘ए बाट क्वाटरफाइनलमा पुग्यो । तीन टिम रहेका यो समूहमा ओलम्पिया लगातार दुई हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ । ओलम्पियाको बहिर्गमनसंगै यो समूहमा एक जित निकालिसकेको प्राइम पनि क्वाटरफाइनलमा पुग्न सफल भयो । प्राइम र ट्रिनिटीको खेलले समूह विजेताको टुंगो लाग्नेछ ।

महिलातर्फ साइपाल फाइनलमा
महिलातर्फ तीन टिम सहभागी यस प्रतियोगितामा साइपालले लगातार दोश्रो जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । थापाथलीको ट्रेड टावरमा अवस्थित ब्रिटिस कलेजको कोर्टमा भएको राउन्ड रोविन लिगको आफ्नो दोश्रो खेलमा साइपालले मोर्गनको चुनौती ४६–३६ ले समाप्त पार्‍यो । साइपालकी स्वेता खरेलले १० अंक जोडिन् । मोर्गन र ट्यालेन्ट हन्ट टिमबीचको विजेताले उपाधिका लागि साइपालसंग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *