ब्लाटर र प्लाटिनीलाई लामो प्रतिबन्ध

जुरिच, एजेन्सी । विश्व फुटवलको सर्वोच्च संस्था फिफाका अध्यक्ष सेप ब्लाटर र युरोपियन फुटवलको सर्वोच्च संस्था यु इ एफ ए का अध्यक्ष मिचेल प्लाटिनीलाई अनुशासन समितिले आठ बर्षको प्रतिबन्ध लगाएको छ । सोमबारबाटै लागु हुने सो प्रतिबन्ध पश्चात आगामी आठ बर्षसम्म उनीहरु दुवैले फुटवल सग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुने पाउने छैनन् ।
सन् १९९८ देखी फिफामा अध्यक्ष बनेका ७९ बर्षिय ब्लाटरले यस अघि नै आफु पद छाड्ने घोषणा गरिसकेका थिए । आगामी फेब्रुअरीमा फिफामा अध्यक्ष पदका लागी निर्वाचन हुने कार्यक्रम तय भएको छ । यो प्रतिबन्धले ६० बर्षिय प्लाटिनीलाई भने ठुलो संकटमा पारिदिएको छ । प्लाटिनीलाई भावी फिफा अध्यक्षका रुपमा लिने गरिएको थियो । तर यो घटनाले भने उनको त्यो संभावना पनि समाप्त भएको छ । तीन पटक युरोपियन फुटवलर अफ द इयर बनिसकेका पूर्व फ्रान्सेली कप्तान प्लाटिनी सनु २००७ देखी यु इ एफ ए को अध्यक्षका रुपमा रहेका छन् । प्लाटिनी र ब्लाटर दुवैलाई जरिवाना पनि तोकिएको छ । गत अक्टोवरमा उनीहरु दुवैलाई ९० दिनका लागी निलम्बन गरिएको थियो । सन् २०११ मा प्लाटिनीलाई २०  लाख डलर फिफाले दिएको भन्ने विषयमा अनुसन्धान भएको थियो । तर प्लाटिनी र ब्लाटर दुवैले आफुले कुनै गल्ती नगरेको दावी गर्दै आएका छन् ।
ब्लाटर र प्लाटिनी दुवैको मिलेमतोमा सो २० लाख डलर भ्रष्टाचार भएको अनुशासन समितिले ठहर गरेको छ । दुवैले सो रकम सन् १९९८ मा भएको सम्झौता अनुसार प्रदान  गरिएको दावी गर्दै आएका छन् । सन् १९९८ देखी सन् २००२ सम्म प्लाटिनीले ब्लाटरका लागी प्राविधिकि सल्लाहकारका रुपमा काम गरेका थिए । तर सो रकमका विषयमा कुनै लिखित सम्झौता भएको देखिदैन । दुवैले त्यसलाई मौखिक सम्झौता भएको दावी गरिरहेका छन् । स्वीजरल्याण्डको कानुन अनुसार मौखिक सम्झौता पनि मान्य हुन्छ । जर्मन न्यायाधिश हान्स जोएकिम एकर्ट अध्यक्ष रहेको फिफाको न्यायिक इजलासले प्रतिबन्धको निर्णय गरेको हो । ब्लाटर र प्लाटिनी दुवैलाई गलत हिसाव किताव राखेको अनुसन्धानमा असहयोग गरेको लगायतका आरोप पनि सो समितिले लगाएको छ ।

Leave a Reply

Your email address will not be published.