मंगलवारबाट यु–१८ राष्ट्रिय बास्केटबल

काठमाडौं,१ असार

मंगलवारबाट ‘द ब्रिटिस कलेज कप सातौं पुरुष तथा महिला यु–१८ राष्ट्रिय बास्केटबल प्रतियोगिता हुने भएको छ । द ब्रिटिस कलेजको मुख्य प्रायोजन तथा नेपाल बास्केटबल संघको आयोजनामा हुने सो प्रतियोगितामा पुरुषमा १६ र महिलामा १२ टिमको सहभागिता रहने जानकारी आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइयो । मोफसलबाट पुरुषमा ३ र महिलामा १ टोलीले भाग लिने आयोजक संघका अध्यक्ष लामा टेन्डी शेर्पाले जानकारी दिए ।
ब्रिटिस कलेजले योसहित लगातार तीन संस्करण प्रतियोगितालाई प्रायोजन गर्ने बताइएको छ । प्रायोजन वापत ब्रिटिस कलेजले संघलाई ५ लाख उपलब्ध गराउने र नपुग रकम संघले व्यहोर्ने अध्यक्ष शेर्पाले बताए । यो प्रतियोगिता भारतको बैंगलारुमा जुलाईमा हुने एसियाली क्वालिफिकेसनको छनोटका रुपमा समेत रहेको संघले जनाएको छ । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु थापाथलीस्थित ट्रेड टावरमा रहेको ब्रिटिस कलेजको कोर्टका साथै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । प्रतियोगिता असार ९ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *