खेलपेपर, काठमाडौं।
२१ माघ २०७५
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल विजेता मनाङ–मस्र्याङ्दी क्लबले एएफसी कप फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा बङ्गलादेशीको लिग विजेता क्लब ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्ने भएको छ । एशियन फुटबल महासङ्घ (एएफसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार मनाङले पहिलो खेलमा अबहानी लिमिटेडको सामना गर्ने भएको हो ।
समूह ‘इ’ मा रहेको मनाङले पहिलो खेलका रुपमा आगामी अप्रिल ३ मा अब हानी लिमिटेडको सामना गर्नेछ । मनाङको होम खेलअन्तर्गत रहेको उक्त खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । मनाङले अबहानीसँग अव खेल भने ढाकास्थित बङ्गबन्धु स्टेडियममा आगामी जुन १९ मा खेल्नेछ ।
ए डिभिजन लिग विजेता टोली एएफसीमा सहभागिता जनाउने प्रवधानअनुसार मनाङले यो अवसर पाएको हो । यस्तै मनाङले प्ले अफबाट आउने टोलीसँगको अवे खेल अप्रिल १७ मा खेल्नेछ । भारत, श्रीलङ्का र भूटानमध्येको एक टोलीले खेल्नेछ । प्ले अफबाट आउने टोलीसँग मनाङले होम खेल आगामी जुन २६ मा एन्फा कम्प्लेक्समा खेल्नेछ ।