मन्त्रीसँगको भेट कि ‘चाकडी’?

काठमाण्डौ, ४ असार
खड्ग प्रसाद(केपी) शर्मा ओली प्रधानमन्त्री भएदेखी यता युवा तथा खेलकुद मन्त्रालयमा मात्रै तीन वटा मन्त्री फेरिइसकेका छन् । सवैभन्दा लामो समय जगत बहादुर विश्वकर्माले मन्त्रालय सम्हाले । उनी मन्त्री भएर आएपछि पनि नेपालको खेलकुद क्षेत्रका स्थायी शक्तिहरु भेटघाटका लागी उनको कार्यकक्षमा पुगेका थिए । त्यसपछि आएका खेलकुद मन्त्री दावा लामाको कार्यकक्षमा पनि एउटा टोली खदा र माला बोकेर पुगेकै थिए । त्यो बेला पनि खेलकुदका समस्याका विषयमा जानकारी गराउन भनेर एउटा टोली गएकै थियो । खेलकुदको विषयमा सामान्य जानकारी पनि राख्न नपाउदै र खेलकुदका केही कार्यक्रममा सहभागी हुन नपाउदै उनको पनि कार्यकाल सकियो ।
उनलाई दिइएका ज्ञापनपत्र र सुझावहरु उनले आफनै झोलामा हालेर घर लगे वा मन्त्रालयको डस्टविनमा फालिदिए त्यो उनैलाई थाहा होला । अहिले युवा तथा खेलकुद मन्त्रीको रुपमा इकवाल मिया भन्ने ब्यक्ति आएका छन् । नेपाली खेलकुद क्षेत्रले उनलाई सायदै चिनेको छ । उनले पनि नेपाली खेल क्षेत्रलाई सायदै चिनेका होलान् । खेल क्षेत्रका जानकारहरुका अनुसार उनी खेलकुद क्षेत्रका बारेमा अनभिज्ञ नै छन् । उनलाई भेट्नका लागी भनेर नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका पदाधिकारीहरुको एउटा टोली शुक्रवार मन्त्रालय पुगेको थियो । सो टोलीको अनुहार नेपाली खेलकुद क्षेत्रका लागी परिचित अनुहार हो । सायद मन्त्रीले पनि देख्ने वित्तिकै उनीहरुलाई चिने पनि होलान् । तर पटके मन्त्रीहरुलाई कार्यकक्षमा यती हतार गरेर भेट्न नेपाली खेल क्षेत्र किन लालायित भएको होला? नेपाली खेल क्षेत्रमा चाकडी, चाप्लुसी एउटा रोगका रुपमा रहेको छ । राजाको शासन हुदा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने खेल क्षेत्र गणतन्त्र आएको भोलीपल्टै गणतन्त्र जिन्दावाद भन्ने नारा लगाउन सफल भएको थियो । मन्त्री वा सदस्य सचिव भएको भोलीपल्टै धेरै अपेक्षा राखेर भेट्न गइएको हो वा चाकडी नै बजाउन गइएको हो यो जाने टोलीलाई नै थाहा होला । तर नेपाली खेल क्षेत्रले भने यस्तो विषयलाई चाकडीकै रुपमा लिने गरेको छ । खेलमा लाग्नका लागी शारिरिक र मानसिक रुपमा फिट हुन जरुरी हुन्छ । युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी बोकेर मन्त्रालय छिरेको मन्त्रीले कम्तिमा खेलकुदका यती चर्चित अनुहारलाई औपचारिक रुपमा आफैले बोलाएर समस्याको खोजी गर्ने र समाधानका उपायका विषयमा छलफल गर्ने संस्कार यो क्षेत्रमा कहिले बस्ला ? के खेल क्षेत्रले त्यो संस्कार बसाउन सक्दैन त ? देशको लागी लामो समय खेलेका चर्चित अनुहार पनि खेलकुद क्षेत्रका अन्य कमजोर सोच भएकाहरु जस्तै चाकडी र चाप्लुसीमा ब्यस्त हुने हो भने आगामी पुस्ताले के सोच्ला ? त्यसैले मन्त्री वा उपल्लो तहमा नियुक्ती खाएर आउने जो कोहीलाई पनि भेट्न हतार नगर्ने हो कि ? उसको शैली, काम गराई र खेल ब्यवस्थापनको क्षमता हेरेर मात्रै फुल माला बोकेर मन्त्रालय छिर्ने वानी बसाल्ने पो हो कि ? कति दिन टिक्छु भन्ने आभाष नै नभएको मन्त्रीलाई हतार हतार सुझाव पत्र दिनुको औचित्य कति होला ? यो विषयमा पनि सोच्ने हो कि ? यसो विचार गरेर हेरौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *