खेलपेपर, काठमाडौं।
१६ फाल्गुन २०७५
थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बिहीवार स्वदेश फर्किएको छ ।
थाइल्याण्डमा बुधबार सम्पन्न छनोटमा उपविजेता बने पनि नेपाली टोली ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।
सात राष्ट्र सहभागी उक्त छनोटको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधानअनुसार आयोजक थाइल्याण्ड शीर्ष स्थानमा रहँदै विश्वकपका लागि ग्लोबल छनोटमा पुगेको थियो । छनोटमा नेपाल थाइल्याण्डसँगै पराजित भएको थियो । नेपाल थाइल्याण्डसँंग पराजित भए पनि अन्य पाँच खेलमा विजयी भएको थियो । उपविजेता भएर फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न खेलकूदको सर्वोच्च संस्था राष्ट्रिय खेलकूद परिषद्सहित क्रिकेटका सरोकारवाला कोही पनि विमानस्थल गएनन् ।
महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले पछिल्लो दुई महीना राम्रो खेलेको बताए । उनले खेलेका १२ खेलमध्ये दुई खेलमा मात्र पराजित भएको बताउँदै बरियतामा १४औँ स्थानमा रहनु उपलब्धि भएको बताए । कप्तान रुबिना क्षेत्रीले छोटो समयमा महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा क्षमता प्रमाणित गरेको बताइन् ।