रियल मड्रिड आफ्नै मैदानमा पराजित

खेलपेपर, काठमाडौं।
१६ फाल्गुन २०७५

स्पेनको राजधानी मड्रिडमा रियल मड्रिडको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई बार्सीलोनाले पराजित गरेको छ।

बुधबार भएको दोस्रो लेगमा लुइस सुआरेजको दुई गोलमा बार्सिलोनाले ३-० को जित दर्ता गरेको हो । यसअघि क्याम्प नोउमा भएको पहिलो लेगको खेल १-१ को बराबरीमा टुंगिएको थियो ।

खेलको ५० औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सीलोनालाई अग्रता दिलाए । ६९ औं मिनेटमा राफेल भारानेले आत्मघाती गोल गरेपछि बार्सीलोनाको अग्रता दोब्बर भएको थियो । नेल्सन सेमेडोको क्रस सुआरेजसम्म पुग्नु अघि भारानेले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो ।

खेलको ७३ औं मिनेटमा बार्सीलोनाले अग्रता बढाउने मौका पायो । क्यासेमिरोले सुआरेजलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा सुआरेजले सहजै गोल गरे । थप समयमा गोल हुन नसक्दा बार्सिलोना फाइनल प्रवेश गर्न सफल रहयो ।

बार्सिलोनाले यस जितसँगै लगातार छैटौंपटक फाइनल यात्रा तय गरेको छ । लगातार चार सिजन उपाधि जित्दै आएको बार्सीलोना लगातार पाँचौ उपाधि जित्ने दाउमा छ । फाइनलमा बार्सीलोनाले भ्यालेन्सिया र रियल बेटिसको खेलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *