ललितपुर प्याट्रियट्स ६ विकेटले बिजयी

खेलपेपर, काठमाडौं।
१ पौष २०७५

भैरहवा ग्लाडियटर्सलाई ६ विकेटले हराउदै ललितपुरले एभरेष्ट प्रिमियर लिगकाे क्वालिफायर्सको यात्रा पक्का गरेको छ। कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवा १९ ओभरमा मात्र ९२ रनमा अलआउट भयो ।
ललितपुर प्याट्रियट्सको सन्नी पटेलले ४ ओभरमा १२ रन दिएर ५ विकेट लिएपछि भैरहवाका ब्याट्सम्यानले रनका लागि संघर्ष गरे । पटेलले भैरहवाका ओपनर मोहम्मद नाभेद र प्रदीप ऐरी तथा कप्तान शरद भेषावकरका साथै कृष्ण कार्की र कुशल मल्लको महत्वपूर्ण विकेट लिए । गत वर्ष उपविजेता बनेको भैरहवाका कप्तान शरद भेषावकर १ रन बनाएर पवेलियन फर्किदा नाभेद र प्रदीपले समान २ रन बनाएर आउट भए । कृष्ण शून्यमा पवेलियन फर्किदा कुशलले ३ रन जोडे ।
रायन टेन डोएसचर्डले जोडेको ३७ रन नै भैरहवाको इनिङमा बनेको सबैभन्दा ठूलो स्कोर हो । रवि इन्दर सिंहले २५ रन जोडे । डोएसचर्ड र रवि इन्दर दुबैलाई योगेन्द्रसिंह कार्कीले आउट गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ललितपुरका सन्नी पटेल र योगेन्द्रसिंह बाहेक रशिद खानले २ तथा ललितनारायण राववंशीले १ विकेट लिए ।
भैरहवाले शुरुमै गौरव तोमार, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलको विकेट लिए पनि त्यसपछि निरन्तर विकेट लिन नसक्दा हात टार्न सकेन । तोमार ९, ज्ञोनन्द्र ४ र कुशल २ रन बनाएर आउट भए । चौथो ओभरको तेस्रो बलमा कुशल आउट हुँदा ललितपुर २४–३ को स्थितिमा थियो । त्यसपछि जयकिशन कोल्सावाला र पवन सर्राफले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै ललितपुरको इनिङ उकासे । कोल्सावाला २२ रनमा अविजित रहँदा पवनले २५ रन बनाए । सन्दीप जोरा १८ रनमा अविजित रहे । भैरहवाका डोएसचर्डले २ विकेट लिँदा मोहम्मद नाभेद र शरदले १–१ विकेट लिए ।
जितसँगै ललितपुर ८ अंकका साथ शीर्ष स्थानमा छ भने भैरहवा ६ अंकका साथ दोस्रो स्थानमा छ । समान ६ अंक जोडेको काठमाडौं किंग्स ११ रनरेटका आधरमा तेस्रो स्थानमा छ भने विराटनगर वारियर्स ४ अंकका साथ चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *