विश्व कपको उपाधि फ्रान्सलाई

मस्को, एजेन्सी
सन् २०१८ को रसिया विश्व कप फुटवलको उपाधि फ्रान्सले जितेको छ । आइतवार राती भएको फाइनल खेलमा फ्रान्सले क्रोएशियालाई पराजित गर्दै उपाधि  उचालेको हो । फ्रान्सको यो दोस्रो विश्व कप उपाधि यात्रा हो । यस अघि सन् १९९८ मा पनि फ्रान्सले विश्व कप फुटवलको उपाधि जितेको थियो । पहिलो पटक फाइनलमा स्थान बनाएर पहिलो उपाधि जित्ने तयारीमा रहेको क्रोएशियाको सपनालाई फ्रान्सेली खेलाडीले चकनाचुर बनाइदिए र ४–२ ले खेल आफनो पक्षमा पारे । खेलको १८ औं मिनेटमा मान्डजुकिचले गरेको आत्मघाती गोल पछि क्रोएशियाको खराव लक्षण देखिएको यिो । २८ औं मिनेटमा पेरिसिकले गोल गर्दै खेलमा एक एकको बरावरी गरे । तर त्यो बरावरी धेरै बेर टिक्न सकेन । ३८ औं मिनेटमा फ्रान्सले पेनाल्टी हान्ने अवसर पायो । त्यो अवसरलाई ग्रीन्जम्यानले गोलमा परिणत गरिदिए । पहिलो हाफमा दुई एकले अगाडी रहेको फ्रान्सका लागी ५९ औं मिनेटमा पोग्वा र ६५ औं मिनेटमा एम्बापेले गोल गरेपछि फ्रान्स खेलमा ४–१ ले अगाडी रहेको थियो । ६९ औं मिनेटमा फ्रान्सेली गोलकिपरको गल्तीको फाइदा उठाउदै मान्डुकिचले एक गोल फर्काए । तर त्यो जीतका लागी पर्याप्त हुन सकेन । लिग चरणका खेल देखी नै उत्कृष्ट फर्ममा देखिएको फ्रान्स अन्तत उपाधि लिएर घर फर्केको छ । युवा खेलाडीहरुको बाहुल्यता रहेको फ्रान्सले विश्व फुटवल जगतलाई एउटा सन्देश पनि दिएको छ । उता दोस्रो स्थानमा चित्त बुझाए पनि क्रोएशियाको यो अहिलेसम्मकै सवैभन्दा उत्कृष्ट प्रर्दशन हो । त्यसैले दोस्रो स्थान र उत्कृष्ट खेलाडीको पुरस्कार क्रोएशियाले प्राप्त गरेको छ । क्रोएशियाका लुका मोर्डिचले गोल्डेन बल प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *