विश्व च्याम्पियनसिप खेल्ने साइक्लिङ टोलीको बिदाइ

काठमाडौं, ४ असार

दक्षिण अफ्रिकाको पिटरमाटिजवर्गमा हुने २०१४ युसीआई माउन्टेन बाइक म्याराथन विश्व च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बुधबार बिदाइ गरियो । जुन २९ मा हुने च्याम्पियनसिपमा नेपालका चार साइक्लिस्टले भाग लिने छन् । अजय पण्डित श्रेत्री, नारायणगोपाल महर्जन, राजकुमार श्रेष्ठ र बुद्धिबहादुर तामाङ्गले नेपालको प्रतिनिधित्व गर्नेछन् । यी चारै जना गत बर्ष मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा सहभागी भइ छनोट भएका खेलाडी हुन् । नेपाली खेलाडी विश्व च्याम्पियनसिपमा सहभागी हुन लागेको यो दोस्रो पल्ट हो । यस अघि फ्रान्समा भएको वल्र्ड च्याम्पियनसिपमा नेपाली खेलाडी निर्जला ताम्राकारले सहभागिता जनाएकी थिइन् । नेपाली प्रशिक्षक अजयनरसिंह राणाले खेलाडीलाई प्रशिक्षण दिएका थिए । साथै विदेशी सहयोगी प्रशिक्षक टन इभरसले इन्टरनेटमार्फत प्रशिक्षण दिएको नेपाल साइक्लिङ संघका अध्यक्ष छिमि उर्केन गुरुङले जनाएका छन् । सो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई लाग्ने हवाई भाडा, बसोबास तथा खाना, तालिमका सामग्री, डाइटआदिका लागि रे कोइल, याक अट्याक इन्टरनेसन, टम इभरस, हिमालयन सिंगल ट्रयाक कम्पनी, साइकिलिस्ट टेलोर म्याक म्याथनलगायतले सहगोग गरेको संघले जनाएको छ । टोलीलाई संघका अध्यक्ष गुरुङले बिदाइ गर्दै खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । टोली बिहीबार प्रस्थान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *