सागलाई लक्षित गरी विशेष प्रशिक्षण शुरु

खेलपेपर, काठमाडौं।
२९ मङ्सिर २०७५

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टोली तयारी समितिले नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरी खेलाडीको विशेष प्रशिक्षण शुरु गरेको छ ।

शुरु भएको प्रशिक्षणमा इन्डोनेसियामा सम्पन्न १८ औँ एसियाली खेलकुदका पदक विजेतासहित उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सहभगी गराइएको छ ।

एसियाडमा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये भारोत्तोलन, बक्सिङ, आर्चरी, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, तेक्वान्दो, पौडी, जुडो, उसु र प्याराग्लाइडिङ गरी १३ खेलका ४३ खेलाडी विशेष प्रशिक्षणमा सहभागी छन् ।

प्याराग्लाइडिङले पुरुष टिम क्रस कन्ट्रीमा नेपाललाई रजत दिलाएको थियो । उक्त पदक नेपालले १८ औँ एसियाडमा हासिल गरेको एक मात्र पदक थियो । विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सम्मिलित टोलीले रजत जितेका थिए ।

आगामी माघ ५ गतेसम्म चल्ने प्रशिक्षणको आज राखेपका सदस्य–सचिव केशवकुमार विष्टले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले एसियाडमा पदक ल्याउन असफल भएपनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १३ औँ सागको तयारीलाई मध्यनजर गरी विशेष प्रशिक्षणको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

“राष्ट्रलाई पदक दिलाउने खेलाडीलाई त हामीले नगदसहित सम्मान गरिसकेका छौँ । पदक विजेतासहित पदक जित्न असफल भएपनि आ–आफ्नो विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीको सम्मानका खातिर र १३ औँ सागको तयारीलाई लक्षित गरी हामीले विशेष प्रशिक्षणको थालनी गरेका हौँ”–उहाँले भन्नुभयो ।

सदस्य–सचिव विष्टले प्रशिक्षकको हकमा सिनियर÷जुनियर तथा स्थायी÷अस्थायी नहेरी राम्रो र सक्षम प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिइने बताउँदै बाँकी खेलाडीलाई आठौँ राष्ट्रिय खेलकुदपछि प्रशिक्षणमा राखिने बताउनुभयो ।

प्रशिक्षणको जिम्मेवारी सम्बन्धित १३ खेलका १६ प्रशिक्षकलाई दिइएको छ । राष्ट्रिय टोली तयारी समितिका निर्देशक अर्जुन विकले पहिले तोकिएको मितिभन्दा आठौँ राष्ट्रिय खेलकुदपछि सरेकोले तत्काललाई १८ औँ एसियाडमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मात्र समावेश गरी प्रशिक्षण शुरु गरिएको बताउनुभयो । सो अवसरमा विशेष प्रशिक्षणमा सहभागी खेलाडी र प्रशिक्षकलाई सदस्य–सचिव विष्टले ट्रयाकसुट पनि प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *