सापटी खोजेर धर्मश्री प्रतियोगिता

काठमाण्डौ, खेलपेपर ।
नेपालको शारिरिक सुगठन खेलमा सर्वाधिक लोकप्रिय र प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको धर्मश्री शारिरिक सुगठन प्रतियोगिता पनि आयोजकहरुका लागी थप दुखद बन्दै गएको छ । प्रतियोगिता आयोजना हुन थालेको बर्षौ वितिसक्यो तर अहिलेसम्म पनि नेपालमा यसले राम्रो बजार पाउन नै सकेन । यस पटक १५ औं संस्करणको तयारीमा जुटेको आयोजक संस्था नेपाल ब्यायाम मन्दिर आजका दिनसम्म पनि प्रायोजककै खोजीमा भौतारिएको छ । नेपाली टेलिभिजन मिडियाले पनि यो प्रतियोगितालाई प्रत्यक्ष प्रसारणका लागी रकम माग गरेको बुझिन आएको छ । अर्थात यो प्रतियोगितालाई यत्रो बर्षमा पनि संचार जगतले समेत राम्रो खेल र बजार विस्तार हुन सक्ने खेलका रुपमा नलिएको पाइयो । यसबाट नेपालको खेल क्षेत्रको अवस्था कस्तो छ भन्ने पुष्टि हन्छ । यो प्रतियोगिता आगामी असोज १९ र २० गते आयोजना हुने भएको छ । प्रतियोगिताका लागी रकम अभाव भएकाले सापटी लिएर भएपनि प्रतियोगिता संचालन गर्ने तयारी नेपाल ब्यायाम मन्दिरले गरेको बुझिएको छ । प्रतियोगिताका लागी झण्डै ४० लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।   राष्ट्र, राष्ट्रियता तथा प्रजातन्त्र प्रति अमुल्य जीवनको आहुती दिनु हुने अमर शहिद तथा ब्यायामका प्रणेता धर्मभक्त माथेमाको स्मृतीमा २०४२ सालबाट सुरु गरिएको सर्वाधिक सम्मानित तथा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको १५ औं संस्करण अशोज १९ र २० गते हुने मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए । राष्ट्रब्यापी खुल्ला प्रतियोगिताको रुपमा रहेको प्रतियोगितामा करिव ४०० खेलाडीहरुले विभिन्न ७ तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजी माथीको तौल समूहमा प्रतिस्पर्धा गराईने र प्रत्येक तौल समूहका पहिलो स्थान हात पार्ने खेलाडीहरुले ओभरअल राउण्डमा धर्मश्री उपाधीका लागि प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । १५ हजार पुरस्कार रासीबाट सुरु गरिएको धर्मश्री प्रतियोगिता १५ औं संस्करण सम्म आई पुग्दा शारिरीक सुगठनमा सर्वाधिक धनरासी पुरस्कार रहेको प्रतियोगिता भएको छ । धर्मश्री बिजेतालाई नगद ५ लाख सहित ट्रफी र ब्यानेटबाट सुसज्जित गरिने छ । यस्तै प्रतियोगितामा दोश्रो हुनेले २ लाख, तेश्रोले १ लाख, चौथोले ९० हजार, पाँचौले ८० हजार, छैटौंले ७५ हजार र सातौं स्थान हात पार्नेले ६० हजार नगद, मेडल तथा अन्य पुरस्कार प्राप्त गर्ने छन् । यस्तै तौल समूहमा दोश्रो र तेश्रो हुनेले क्रमश नगद ३० हजार र २० हजारका साथै मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको हौशला अभिबृद्धि गर्न भारतका चर्चित दुई पटकका मि. वल्र्ड, मि. युनिभर्स तथा मि. ईण्डिया संग्राम चौगुले पनि नेपाल आउने भएका छन् । कुल ४० लाखको बजेट रहेको प्रतियोगिताको अघिल्लो संस्करणको धर्मश्री पर्शाका अर्जून बर्णवाल रहेका थिए । नेपालको शारिरिक सुगठन खेलमा लाग्ने हरेक खेलाडी यो प्रतियोगिता जित्न चाहान्छ । तर नेपालमा यसले जुन रुपमा बजार पाउनु पर्ने थियो त्यो पाउन सकेको छैन । एउटा खेलाडीले प्रतियोगिताको लागी मात्रै तयारी गर्दा पनि १० लाख भन्दा बढी रकम खाना र अभ्यासमा खर्च गर्नु पर्ने हुन्छ । नेपाल सरकारको ध्यान अहिलेसम्म यो खेलमा जानै सकेको छैन । विश्व च्याम्पियनसीपसम्म प्रतिस्पर्धा गरेर नेपालले उपाधि जित्न सक्ने कमै मध्ये यो खेल पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *