सिटीद्वारा चेल्सी भारी गोलले पराजित

खेलपेपर, काठमाडौं।
२८ माघ २०७५

इग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीलाई हराउदै म्यानचेस्टर सिटी अंक तालिकाको पुनः शीर्ष स्थानमा उक्लेको छ । आइतबार राती चेल्सीलाई ६–० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लेको हो ।

घरेलु मैदानमा सर्जियो अगुएरोले ह्याट्रिक गरेपछि सिटीको जित सहज बनेको थियो । टोलीका लागि रहिम स्ट्रलिङले २ र इल्क्ये गुन्डुगानले १ गोल गरे । स्ट्रलिङले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलको पहिलो हाफमै सिटीले ४–० को अग्रता लिएको थियो ।

अगुएरोले १३ औं र १९ औं तथा गुन्डागानले २५ औं मिनेटमा गोल गरे । अगुएरोले ५६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । स्ट्रलिङले ८० औं मिनेटमा अर्को गोल थपेका थिए ।

लिभरपुलसँग समान ६५ अंक पुगेपछि गोलअन्तरका आधारमा सिटी शीर्ष स्थानमा उक्लेको हो । तेस्रो स्थानको टोटेनह्यामको ६० र चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ५१ अंक छ ।

पाँचौं स्थानको आर्सनल र छैटौं स्थानको चेल्सीको समान ५० अंक छ । टोटेनह्यामले आइतबार नै लेस्टर सिटीलाई ३-१ ले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *