२३ फुटबल प्रतियोगिता मोफसलमा

खेलपेपर, काठमाडौं।
२६ मङ्सिर २०७५

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा सञ्चालन हुने २३ वटा गोल्डकप फुटबल प्रतियोगिताको वर्गीकरण गर्नुका साथै खेल तालिका निर्धारण गरेको छ । मोफसलमा हुने प्रतियोगिताहरूलाई व्यवस्थित बनाउन एन्फाले प्रतियोगिता हुने मितिसमेत तय गरेको हो । विभिन्न जिल्ला तथा प्रतियोगिता आयोजकले प्रतियोगिता आयोजनाको मिति उपलब्ध गराउन माग गर्दै एन्फामा अनुरोध गरेपछि एन्फाले २३ वटा प्रतियोगिताको समयतालिका आज सार्वजनिक गरेको हो ।  एन्फाकाअनुसार जारी ए डिभिजन लिग फुटबल सकिएलगत्तै मोफसलमा गोल्डकप प्रतियोगिताहरू शुरु हुनेछन् । आगामी पुसको तेस्रो सातबाट शुरु हुने फुटबल गोल्डकप आगामी वैशाखको तेस्रो सातासम्म चल्नेछ । मोफसलमा हुने गोल्डकपलाई नियमित र व्यवस्थित बनाउन भन्दै एन्फाले दुई श्रेणीमा प्रतियोगिताको वर्गीकरण मापदण्ड तयार गरेको छ । एन्फा उपाध्यक्ष कृष्ण थापा नेतृत्वको स्तर निर्धारण समितिले प्रतियोगिताको मापदण्ड तोकेको हो । प्रतियोगिता सञ्चालनका लागि स्वीकृत लिएका आयोजकले मापदण्डका आधारमा प्रतियोगिताको श्रेणी प्राप्त गर्नेछन् । एन्फाले तय गरेको मापदण्ड पालन भए नभएकाबारे अनुगमन गरिने प्रवक्ता किरण राईले जानकारी दिनुभयो । एन्फाले ‘क’ श्रेणीको प्रतियोगिताको मान्यता पाउन रङ्गशाला वा स्तरीय मैदानलाई तार जाली गरेको हुनुपर्ने र स्थायी वा अस्थायी प्यारापिटको व्यवस्था हुनपर्ने मापदण्ड तय गरेको छ । प्रतियोगितामा कम्तीमा १० टोली सहभागी गराउनुपर्ने र त्यसमा कम्तीमा छ वटा ‘ए’ डिभिजन क्लबले खेल्नुपर्नेछ । आवश्यक प्राविधिक जनशक्ति प्रतियोगिताका लागि तयार गर्नुपर्ने, टिकट बिक्रीबाट उठेको तीन प्रतिशत रकम एन्फामा बुझाउनुपर्ने र खेल मैदानमा एम्बुलेन्सको व्यवस्था हुनुपर्नेलगायतका मापदण्ड बनाएको छ । त्यस्तै एन्फाले ‘बी’ श्रेणीको प्रतियोगिताको मान्यता पाउन रङगशाला वा स्तरीय मैदानलाई तार जाली गरेको हुनुपर्ने, कम्तीमा आठ टोली सहभागी हुनुपर्ने र ‘ए’ डिभिजनका चार क्लबले खेल्नुपर्नेलगायत मापदण्ड तोकेको प्रवक्ता राईले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *